Techie IT
आईतबार, चैत्र २९,२०८२

तुम्लिङटारमा ट्याक्टर दुर्घटना : एक बालकको मृत्यु, दुई गम्भीर घाइते


खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका–९ अन्तर्गत तुम्लिङटारस्थित कोशी राजमार्गमा शनिबार अपराह्न ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को २ त ५३५४ नम्बरको ट्याक्टर शनिबार साँझ सवा चार बजे अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई तत्काल उद्धार गरी मनकामना अस्पताल तुम्लिङटार पठाइएकोमा खाँदबारी–९ तुम्लिङटारका ११ वर्षीय मनीष कुमालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमालको अवस्था गम्भीर रहेको संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो ।
दुर्घटना लगतै विमानस्थल सुरक्षा गार्ड तुम्लिङटारका प्रहरी सहायक निरीक्षक बलबहादुर भुजेलको नेतृत्वको टोली र नेपाली सेनाको इन्द्र दल गुल्मका सेना घाइतेको उद्धारमा खटिएका थिए ।
ट्याक्टर चालक खाँदबारी–९ सागुरी निवासी २० वर्षीय सुसान लिम्बु दुर्घटनापछि फरार रहेका छन् । प्रहरीले उनको खोजी तीव्र बनाएको जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा टोली परिचालन गरिएको छ । प्रारम्भिक अनुसन्धानले ट्याक्टर अनियन्त्रित भएकै कारण दुर्घटना भएको देखाएको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #ट्याक्टर दुर्घटना, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्