Techie IT
शनिबार, वैशाख १९,२०८३

सरकारी विज्ञापनसम्बन्धी निर्णयप्रति संखुवासभाका सञ्चारमाध्यमको ध्यानाकर्षण


संखुवासभा । जिल्लामा क्रियाशील २३ वटा पत्रपत्रिका, अनलाइन तथा एफएम रेडियोहरूले सरकारी विज्ञापनसम्बन्धी हालैको निर्णयप्रति ध्यानाकर्षण जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २०८२ चैत १८ गते जारी परिपत्रमार्फत सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था गरिएपछि स्थानीय सञ्चारमाध्यमहरूले चासो व्यक्त गरेका हुन् ।
यस सम्बन्धमा सञ्चारकर्मीहरूले बुधबार प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । पत्रमा उक्त निर्णयले निजी तथा स्थानीय सञ्चारमाध्यमको भूमिकामा प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ ।

सञ्चारकर्मीहरूले जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरूले राज्यका सूचना नागरिकसम्म पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाउँदै नीतिगत निर्णय गर्दा सबै पक्षको सहभागिता र समन्वय आवश्यक रहने धारणा राखेका छन् ।

ध्यानाकर्षण पत्रमा निर्णय पुनर्विचार गर्न आग्रह गरिएको जनाइएको छ। साथै, आवश्यक परेमा थप छलफलमार्फत समाधान खोजिनुपर्नेमा जोड दिइएको छ ।

उक्त ध्यानाकर्षण पत्रको प्रतिलिपि नेपाल पत्रकार महासंघ संखुवासभालाई समेत उपलब्ध गराइएको छ ।

यसैबीच, नेपाल पत्रकार महासंघ संखुवासभाले पनि स्थानीय सञ्चारमाध्यमको चासोलाई सम्बोधन गर्दै प्रजिअमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##जिल्ला प्रशासन कार्यालय लमजुङ, #hot, #ध्यानाकर्षण, #नेपाल पत्रकार महासंघ, #प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, #बिरोध, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्