Techie IT
मंगलबार, फागुन १२,२०८२

देशकी छोरी ‘साम्बा’का लागि एनआरएनए उपाध्यक्ष राज रेग्मीद्वारा दुई महिनाको होटल/रिह्याब खर्च बेहोर्ने घोषणा


काठमाडौं, राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारपछिको पुनर्स्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष राज रेग्मी ले मार्मिक र प्रेरणादायी सहयोगको घोषणा गरेका छन्। कतार र नेपालमा स्थापित युवा व्यवसायीसमेत रहेका उनले शल्यक्रियापछि आवश्यक पर्ने स्विमिङ पुल र जिम सुविधा भएको होटल वा अपार्टमेन्टमा दुई महिनासम्म बस्न लाग्ने सम्पूर्ण खर्च आफूले बेहोर्ने प्रतिबद्धता जनाएका हुन्।
घुँडामा गम्भीर चोट लागेपछि उपचारका लागि करिब ८० हजार अमेरिकी डलर आवश्यक पर्ने प्रारम्भिक आँकलन सार्वजनिक गर्दै साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको अपिल गरेकी थिइन्। देशका लागि दर्जनौं ऐतिहासिक गोल गरेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराएकी कप्तान आज आफ्नै उपचारका लागि सहयोग माग्न बाध्य हुनु विडम्बना भएको धेरैले टिप्पणी गरिरहेका छन्।
साम्बालेनै मङ्गलबार अर्को स्ट्याटस लेख्दै आफुलाई सहयोग गर्ने सबैप्रती आभार ब्यक्त गर्दै आफुलाई आवश्यक पर्ने रकम उपलब्ध भैसकेकाले अब नपठाउन आग्रह गरेकी छन ।
यही संवेदनशील घडीमा राज रेग्मीले खेलाडीप्रतिको सम्मान र मातृभूमिप्रतिको प्रेमलाई कर्ममार्फत देखाएका छन्। “देशको गौरव, हाम्रो छोरी साम्बा छिट्टै मैदान फर्किनुपर्छ,” भन्ने भावसहित उनले गरेको सहयोग घोषणालाई विश्वभर रहेका नेपाली समुदायले उच्च मूल्याङ्कन गरेका छन्। सामाजिक सञ्जालमा प्रवासमा रहेका नेपालीहरूले रेग्मीको पहललाई ‘खेलाडीप्रतिको सच्चा माया’ भन्दै सलाम व्यक्त गरिरहेका छन्।
अष्ट्रेलियन ए–लिग खेल्ने क्रममा करिब डेढ महिनाअघि साम्बा घाइते भएकी थिइन्। उनी आबद्ध क्लब Wellington Phoenix FC ले स्थानीय उपचार प्रक्रिया अघि बढाउनुका साथै बिमाबाट प्राप्त रकम उपलब्ध गराउने जनाएको छ। तर चोट जटिल रहेकाले र विगतमा कतारस्थित Aspetar मा गरिएको उपचार प्रभावकारी भएको अनुभवका आधारमा उनले पुनः सोही अस्पतालमा शल्यक्रिया गराउने इच्छा व्यक्त गरेकी छन्।

शल्यक्रियापछि कम्तीमा ७–८ महिना लामो रिह्याब आवश्यक पर्ने चिकित्सकीय सुझाव छ। क्लबको बिमा रकम मात्र पर्याप्त नहुने देखिएपछि आर्थिक चुनौती थपिएको अवस्थामा राज रेग्मीले घोषणा गरेको दुई महिनाको होटल–रिह्याब खर्चले उपचारपछिको सबैभन्दा संवेदनशील चरणलाई सहज बनाउने विश्वास गरिएको छ।
खेलाडीको पसिनामा देशको इज्जत गाँसिएको हुन्छ। जब देशकी कप्तान पीडामा हुन्छिन्, त्यो पीडा सिंगो राष्ट्रको हुन्छ। यही भावनालाई आत्मसात गर्दै राज रेग्मीले देखाएको पहललाई धेरैले प्रवासबाट उठेको राष्ट्रप्रेमको उज्यालो उदाहरणका रूपमा व्याख्या गरेका छन्।
देश र खेलाडीप्रतिको माया व्यवहारमा उतार्ने यस्ता कदमहरूले साम्बाजस्ता योद्धालाई पुनः मैदानमा फर्कने आत्मबल दिन्छ र यस्ता कर्मले विश्वभर रहेका नेपालीहरूलाई गर्व गर्ने अर्को कारण बन्ने गर्छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्