काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट काठमाडौं–६ मा प्रतिनिधि सभा उम्मेदवार बनेका अमन मास्केले युवालाई केन्द्रमा राख्दै ‘लर्निङ एन्ड अर्निङ’ अवधारणालाई व्यवहारमा उतार्ने मुख्य प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले आफ्नो भूमिका दुई तहमा केन्द्रित हुने बताए—नीति निर्माणमा सक्रिय हस्तक्षेप र विकासका लागि बजेट सुनिश्चितता—तर यी सबै प्रयासको केन्द्रमा युवा सशक्तीकरण रहने उनको भनाइ छ ।
मास्केका अनुसार ‘लर्निङ एन्ड अर्निङ’ मोडेलमार्फत युवालाई पढ्दै कमाउने वातावरण सिर्जना गरिनेछ । स्किल डेभलपमेन्ट, सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र आउटसोर्सिङ क्षेत्रमा लक्षित तालिम सञ्चालन गरी नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरका आईटी सेवा प्रदान गर्न सक्ने जनशक्ति तयार पार्ने उनको योजना छ ।
उनले भने, “युवालाई अवसरका लागि विदेशिनुपर्ने बाध्यता हटाउन नेपालमै रोजगारी र आम्दानीको आधार तयार गर्नुपर्छ।”
काठमाडौं–६ को भौगोलिक विविधता र आवश्यकताको फरकपनलाई स्वीकार्दै उनले माथिल्लो भेगका साँगला, काभ्रेस्थली, धर्मस्थली र तल्लो भेगका मनमैजु, नेपालटारलगायत क्षेत्रका आवश्यकतालाई समेट्ने समग्र विकास योजना ल्याइने बताए ।
पूर्वाधार सुधार पनि युवामैत्री विकासको आधार भएको उल्लेख गर्दै उनले ‘बोटलनेक फ्री इन्फ्रास्ट्रक्चर’ निर्माणमार्फत ट्राफिक जाम न्यूनीकरण गर्ने लक्ष्य सुनाए ।
खानेपानी समस्यालाई क्षेत्रको जटिल चुनौतीका रूपमा औंल्याउँदै उनले एकीकृत मास्टर प्लानमार्फत दिगो समाधान खोज्ने बताए । मौनेश्वर र भण्डारे मुहानको पानी संकलन, ठूलो रिजर्भ ट्यांकी तथा वाटर ट्रीटमेन्ट प्लान्ट स्थापना गरी वितरण प्रणाली सुधार गरिने योजना उनले अघि सारे ।
संस्कृति र धार्मिक पर्यटनलाई पनि रोजगारीसँग जोड्ने सोच प्रस्तुत गर्दै उनले मनमैजु मन्दिर, तारकेश्वर मन्दिर, सपनतीर्थ र भुवनेश्वरी क्षेत्रलाई समेटेर धार्मिक पर्यटकीय रुट विकास गर्न सकिने बताए । होमस्टे प्रवर्द्धन, हरित पार्क निर्माण र खुला क्षेत्र संरक्षणमार्फत स्थानीय अर्थतन्त्र चलायमान बनाउने लक्ष्य उनको छ ।
स्वास्थ्य र प्राविधिक शिक्षामा पहुँच विस्तार गर्दै मेडिकल कलेज र इन्जिनियरिङ कलेज स्थापनाको पहल गरिने उनले बताए । साथै अर्गानिक तथा व्यावसायिक खेती प्रवर्द्धन गरी स्थानीय उत्पादनको बजारीकरण सुदृढ गर्ने योजना पनि उनले सुनाए ।
मास्केले ‘लर्निङ एन्ड अर्निङ’ अवधारणालाई केवल नारामा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याउँदै युवा–केन्द्रित समावेशी विकास नै आफ्नो प्राथमिक एजेन्डा भएको स्पष्ट पारे ।
तपाईको कमेन्ट लेख्नुहोस्