Techie IT
बिहीबार, असार १८,२०८३

नुवाकोटमा एमालेको मतदातासँग साक्षात्कार कार्यक्रम शनिबार नेपालटारस्थित कान्तिपुर एबी पार्टी प्यालेसमा हुने


काठमाडौंनेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटले प्रतिनिधि सभा निर्वाचन २०८२ लक्षित गर्दै मतदातासँग साक्षात्कार कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम फागुन २ गते दिनको १ बजे नेपालटारस्थित कान्तिपुर एबी पार्टी प्यालेसमा हुने जनाइएको छ।

आयोजक एमाले नुवाकोट–काठमाडौं सम्पर्क संगठन कमिटी गोंगबुले काठमाडौं उपत्यकामा बसोबास गर्ने नुवाकोट स्थायी घर भएका मतदातालाई परिवारसहित उपस्थित हुन आह्वान गरेको छ। एमाले नेता रामनाथ खनालले पनि कार्यक्रममा सहभागी हुन सबै नुवाकोटेलाई अपिल गरेका छन्।

क्षेत्र नम्बर १ मा बद्री मैनालीको अभियान तीव्र

नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार बद्री मैनालीले युवापुस्ताको साथ बढ्दै गएको दाबी गरेका छन्। विगत निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका बाबजुद झिनो मतान्तरले पराजित भएका मैनाली यसपटक एकल प्रतिस्पर्धामा आफूलाई सहज अवस्था रहेको बताउँछन्।

ककनी गाउँपालिकामा आयोजित ‘मतदातासँग उम्मेदवार’ कार्यक्रममा स्थानीयले मैनालीलाई स्वागत गरेका थिए। स्ट्रबेरी उत्पादनका लागि परिचित ककनीको सम्भावना उल्लेख गर्दै उनले स्ट्रबेरी खेती, ट्राउट माछापालन र मुला उत्पादनमार्फत क्षेत्रको पहिचान अझ सुदृढ बनाउने योजना सुनाए।

मैनालीले लिखुखोला र तादीखोलाको पानी उपयोग गरी पर्यटकीय ताल निर्माण गर्ने, ठूलो मात्रामा माछा उत्पादन गर्ने तथा नुवाकोटमा पाँचतारे होटल स्थापना गरी रोजगारी सिर्जना गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

क्षेत्र नम्बर २ मा केशवराज पाण्डेको घरदैलो अभियान

नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार केशवराज पाण्डेले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। बेलकोटगढी नगरपालिकामा कार्यक्रम सम्पन्न गरेपछि उनी अहिले किस्पाङ र मेघाङ गाउँपालिकामा अभियानमा छन्।

क्षेत्र नम्बर २ अन्तर्गत बेलकोटगढी र विदुर नगरपालिका एमालेको पकट क्षेत्र मानिन्छ। विदुर नगरपालिकामा घण्टाघर, गगटे पार्क, पिपलटार रंगशाला र त्रिशुली अस्पताल स्तरोन्नतिजस्ता पूर्वाधार योजनाहरू पाण्डेको पहलमा अघि बढेको दाबी गरिएको छ।

एमालेले दुवै क्षेत्रमा आफ्ना उम्मेदवारको जित सुनिश्चित रहेको दाबी दोहोर्‍याउँदै ‘नुवाकोट बनाउने शक्ति एमाले नै निश्चित’ नारासहित चुनावी अभियानलाई तीव्र बनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोटमा एमालेको


तपाईको कमेन्ट लेख्नुहोस्