Techie IT
आईतबार, फागुन ३,२०८२

खाँदबारीमा जिएसएफ सिनेमा सञ्चालन


खाँदबारी । हिमाली जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारी अब आधुनिक चलचित्र अनुभवको नयाँ युगमा प्रवेश गरेको छ। बुद्ध चोकमा स्थापना गरिएको जिएसएफ सिनेमा शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएपछि स्थानीय बासिन्दामा उत्साह छाएको छ ।

कुनै समय ८० को दशकतिर बाँसको टाटी र बोराले छोपिएको अस्थायी संरचनाभित्र खोलिएको हलमा चलचित्र हेर्नुपर्ने बाध्यता थियो । तर समय फेरिएको फेरिदै सुबिधायुक्त हाईभिजन हुँदै अहिले अत्याधुनिक प्रोजेक्शन, गुणस्तरीय ध्वनि प्रणाली र आरामदायी बसाइ सुविधासहितको सिनेमा हल सञ्चालनमा आउनुलाई यहाँको चलचित्र संस्कृतिमा ठूलो फड्कोका रूपमा हेरिएको छ ।

स्थानीयका अनुसार प्रविधिको विकाससँगै दर्शकको रोजाइ र अपेक्षामा आएको परिवर्तनलाई यो हलले सम्बोधन गर्नेछ । अब नयाँ–नयाँ नेपाली तथा विदेशी चलचित्र उत्कृष्ट दृश्य र श्रव्य गुणस्तरसहित आफ्नै शहरमा हेर्न पाइने भएपछि चलचित्र पारखीहरू उत्साहित छन् ।
युवापुस्तालाई लक्षित मात्रै नभई परिवारसहित गएर मनोरञ्जन लिन मिल्ने सुरक्षित र व्यवस्थित वातावरण बन्ने विश्वास पनि गरिएको छ । “अब राम्रो फिल्म हेर्न धरान–इटहरी, बिराटनगर धाउनुपर्ने बाध्यता हट्ने भयो,” स्थानीय दर्शक पाँचखपनका प्रकाश राईले प्रतिक्रिया दिनुभयो ।

सिनेमा हल सञ्चालनमा आएसँगै खाँदबारीको आन्तरिक पर्यटन र बजार व्यापारमा समेत सकारात्मक प्रभाव पर्ने व्यवसायीहरूको अपेक्षा छ । हल वरपर होटल, रेस्टुरेन्ट र अन्य सेवा क्षेत्र चलायमान बन्ने विश्वास गरिएको छ ।

आधुनिक पूर्वाधारसहित सुरु भएको G.S.F. Cinema ले संखुवासभामा मनोरञ्जन उद्योगको विकासमा नयाँ अध्याय थप्ने मात्र होइन, बदलिँदो समयसँग खाँदबारी पनि कदम मिलाउँदै अघि बढेको सन्देश दिएको छ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #खाँदबारी नगरपालिका, #जिएसएफ सिनेमा हल, #संखुवासभा, #सिनेमा हल


तपाईको कमेन्ट लेख्नुहोस्