Techie IT
शुक्रबार, असोज ९,२०८३

कञ्चनपुरमा ५ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने तयारी


पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा आगामी माघ २७ गतेदेखि फागुन १ गतेसम्म ‘एचपीभी’ खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य कार्यालयले जिल्लाका पाँच हजार ५०० छात्रा तथा किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ।

स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनकबहादुर कुवँरका अनुसार यस वर्ष कक्षा ६ मा पढ्दै आएका छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप लगाइनेछ। गत वर्षको अभियानमा छुटेका कक्षा ७–१० का छात्रा र ११–१४ वर्ष उमेरका किशोरीलाई पनि खोप दिइने छ।

प्रत्येक विद्यालयमा खोप केन्द्र स्थापना गरिनेछ र विद्यालयमा खोप लगाउन छुटेका वा विद्यालय बाहिरका किशोरीका लागि फागुन १ गते नजिकैको स्वास्थ्य संस्थामा खोपको व्यवस्था मिलाइने कुवँरले बताए।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा उच्च जोखिमयुक्त छ। स्वास्थ्य अधिकारीका अनुसार किशोरी अवस्थामै खोप लगाउनु क्यान्सर रोकथामको सबैभन्दा प्रभावकारी उपाय हो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्