संखुवासभामा निर्वाचन केन्द्रित तयारी तीव्र
राजनीतिक दलहरु संग छलफल
संखुवासभा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र पार्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ । छलफलमा निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा नीति लागू गरिने जानकारी दिइएको छ ।
मङ्गलबार सम्पन्न छलफलमा दलका प्रतिनिधिहरूले निर्वाचन आयोगको प्रचारप्रसार कार्यक्रम गाउँस्तरसम्म प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने तथा संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था थप कडाइ गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार केन्द्रीय सुरक्षा नीतिअनुसार जिल्लाभर सुरक्षा निकाय परिचालन गरिनेछ । सम्बन्धित सबै पक्षसँगको समन्वय र सहकार्यमा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सुरक्षा रणनीति तयार गरिएको उहाँले बताउनुभयो ।
निर्वाचन सुरक्षाका लागि तीन घेरामा सुरक्षा व्यवस्था मिलाइने योजना बनाइएको छ। पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल तथा तेस्रो घेरामा नेपाली सेना परिचालन गरिनेछ ।
जिल्ला सुरक्षा समितिले जिल्लाका कुल १०९ मतदानस्थलमध्ये आठवटालाई अति संवेदनशील, ८२ वटालाई संवेदनशील र १९ वटालाई सामान्य सूचीमा वर्गीकरण गरेको छ। सोहीअनुसार सुरक्षाकर्मी र साधन परिचालन गरिने जनाइएको छ ।
निर्वाचनलाई सफल बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी करिब दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ ।
मतदाताको पहुँच सहज बनाउन यस पटक मतदानस्थल र मतदान केन्द्रको संख्या वृद्धि गरिएको छ । यसअघि १०८ मतदानस्थल रहेकामा एक थप गरी १०९ पुर्याइएको छ भने मतदान केन्द्र १६२ बाट बढाएर १६४ कायम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख सन्तोष राईका अनुसार भोटखोला गाउँपालिका–४ स्थित बरुण आधारभूत विद्यालय, सिप्रुङमा नयाँ मतदानस्थल थप गरिएको छ। यस्तै चिचिला गाउँपालिका–४ र मकालु गाउँपालिका–२ मा एक–एक मतदान केन्द्र थप गरिएको छ । भौगोलिक विकटताका कारण मतदाताले चारदेखि पाँच घण्टासम्म हिँड्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
विसं २०७९ को निर्वाचनमा एक लाख १७ हजार ५५४ मतदाता रहेको संखुवासभामा यस पटक दुई हजार ७६ नयाँ मतदाता थपिएका छन् । यससँगै जिल्लामा कुल मतदाता संख्या एक लाख १९ हजार ६३० पुगेको छ ।
निर्वाचनको तयारीलाई थप तीव्र बनाउँदै माघ २ गते जिल्ला हुलाक कार्यालय परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिइएको छ । प्रजिअ थपलियाका अनुसार जिल्ला कमाण्ड पोस्ट र जिल्ला निर्वाचन सुरक्षा सेल गठन भइसकेको छ भने सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्वाचन प्रहरी भर्ना प्रक्रिया पनि अघि बढाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##जिल्ला प्रशासन कार्यालय लमजुङ, #आम निर्वाचन, #फागुन २१, #राजनीतिक दल, #संखुवासभा, #सुरक्षा तयारी
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्