Techie IT
शनिबार, माघ ११,२०८२

तीनपोखरी कपको फाइनलमा सेकाहा र मकालु फ्रेन्डस भिड्दै


संखुवासभा, ३० पुस । संखुवासभामा जारी तीनपोखरी कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । मंगलबार सम्पन्न भएको दोस्रो सेमिफाइनलमा सेकाहा सामुदायिक क्लबले शीत्तलपाटी फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

खाँदबारी रंगशालामा भएको खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले केही राम्रो मौका पाए पनि गोल गर्न सकेनन् । त्यसपछि भएको पेनाल्टी सुटआउट पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा सेकाहा सामुदायिक क्लबले बाजी मार्दै १ – ० को कठिन जित निकालेको हो ।

पूर्वी नेपालका ८ टोली सहभागी प्रतियोगिताको फाइनल खेल माघ १ गते माघे संक्रान्तिको अवसरमा हुनेछ । उपाधिका लागि सेकाहा सामुदायिक क्लबले मकालु फ्रेन्डस क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजक तीनपोखरी क्लबले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख ५१ हजार र उपविजेताले १ लाख २१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । मंगलबार भएको सेमिफाईनल खेलमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #खादबारी, #खेलकुद, #फुटबल तीनपोखरी कप, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्