बुढानीलकण्ठ सडक खाजा महोत्सव भव्य रूपमा सम्पन्न, स्थानीय स्वाद र पर्यटन प्रवर्द्धनमा नयाँ उचाइ
बुढानीलकण्ठ सडक खाजा महोत्सव भव्य, सभ्य तथा अत्यन्त सफल रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ६० वटा स्टलमार्फत रैथाने तथा स्थानीय परिकारदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विविध खाजाहरू प्रस्तुत गरिएको थियो। महोत्सव अवधिभर सर्वसाधारणको उल्लेखनीय सहभागिता र उत्साहपूर्ण चहलपहल देखिएको थियो।
बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले स्थानीय मौलिक खानाका परिकारको संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन्। उनका अनुसार यस्ता कार्यक्रमले स्थानीय संस्कृति, स्वाद र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्दछन्।


महोत्सव सफल बनाउन बुढानीलकण्ठको पर्यटन व्यवसायको गौरवका रूपमा स्थापित लेमन ट्री, होलिडे इन, पार्क भिलेज, ग्रिन भ्याली रिसोर्ट र रोयल भिल्ला जस्ता प्रतिष्ठित होटलहरूको सहकार्य उल्लेखनीय रहेको आयोजकले जनाएको छ। यी प्रतिष्ठानहरूको सक्रिय सहभागिताले कार्यक्रमको स्तर, व्यवस्थापन र आकर्षणलाई अझ प्रभावकारी बनाएको बताइएको छ।


कार्यक्रमलाई सुरक्षित, अनुशासित र व्यवस्थित बनाउन बुढानीलकण्ठ नगर प्रहरी, नगर स्काउट तथा स्वयंसेवक टोली अहोरात्र खटिएका थिए। साथै, बुढानीलकण्ठ यातायात व्यवसायी र ट्राफिक प्रहरीको निरन्तर सहयोगका कारण यातायात व्यवस्थापन सहज बनेको थियो।
महोत्सवमा स्टल सञ्चालन गरेका दाजुभाइ तथा दिदीबहिनीहरूले उल्लेखनीय व्यावसायिक लाभ प्राप्त गरेको आयोजकले जनाएको छ। यसले स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्दै आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारेको निष्कर्ष निकालिएको छ।
महोत्सवको समापन कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा विभिन्न स्थानबाट आएका नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। 

यसअघि, महोत्सवको उद्घाटन पहिलो दिन वरिष्ठ कलाकार हरिवंश आचार्यको उपस्थितिमा सम्पन्न भएको थियो।
समग्रमा, बुढानीलकण्ठ सडक खाजा महोत्सवले स्थानीय परिकारको प्रवर्द्धन गर्दै संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने प्रभावकारी प्लेटफर्मका रूपमा आफूलाई स्थापित गरेको आयोजकको निष्कर्ष छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्