Techie IT
शनिबार, माघ ११,२०८२

माघेसंक्रान्तिको अवसरमा तीनपोखरी कप फुटबल प्रतियोगिता आयोजना हुने


खाँदबारी । माघेसंक्रान्तिको अवसर पारेर संखुवासभाको सदरमुकाम खाँदबारीमा तेस्रो संस्करणको तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता पुस २६ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुनेछ ।

तीनपोखरी समाज विकास क्लब खाँदबारी–७ को आयोजनामा हुने प्रतियोगिताले जिल्लामा खेलकुद गतिविधि बढाउने मात्र नभई पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । आयोजकका अनुसार प्रतियोगिताको अवधिमा धार्मिक तथा पर्यटकीय गन्तव्य शिवधारा र सभापोखरीसम्म हेलिकप्टरमार्फत दर्शनको सुविधा उपलब्ध गराइनेछ ।

खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा क्लबले प्रतियोगिताबारे जानकारी दिँदै नवप्रवेशी खेलाडीलाई व्यावसायिक प्लेटफर्म प्रदान गर्ने, युवालाई खेलमार्फत रोजगारीतर्फ उन्मुख गराउने र स्थानीय पहिचान जोगाउने प्रतियोगिताको उद्देश्य रहेको जनाएको छ ।

क्लबका अध्यक्ष मिनेश चापागाईंका अनुसार प्रतियोगितामा कोशी प्रदेशका ८ वटा प्रतिस्पर्धी क्लब सहभागी हुनेछन् । सहभागी टिममा सशस्त्र प्रहरी बल कोशी प्रदेश पकली, बेलका युथ क्लब उदयपुर, चुलाचुली स्पोर्टिङ क्लब दमकलगायत टोली रहेका छन् ।

खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको ४० हजार रुपैयाँ बराबरको बीमा गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेताले २ लाख ५१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेतालाई १ लाख २१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा समेत सम्मान गरिनेछ ।

आयोजकका अनुसार प्रतियोगिता सफल बनाउन २० लाख रुपैयाँभन्दा बढी बजेट खर्च हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #hot, #खादबारी, #खेलकुद, #तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता, #तेस्रो संस्करण, #माघेसंक्रान्ति, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्