एमालेका अधिकांश प्रतिनिधि काठमाडौंमा
एमालेको ११औँ महाधिवेशन भोलिदेखि ३ दिन चल्नेछ । उद्घाटन सत्र भक्तपुरमा र बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा गर्ने तयारी अन्तिम चरणमा पुगेको नेताहरुले जनाएका छन् । महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न र चुनिन देशभरबाट अधिकांश प्रतिनिधि आइसकेका छन् । महाधिवेशनमा करिब २३ सय प्रतिनिधिको जमघट हुँदैछ ।
कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी, गण्डकी प्रदेशका अधिकांश प्रतिनिधि आइसकेका छन् । मधेश र बागमतीका पनि बिहीबारसम्म आइपुगेको बताउँछन् । यी प्रदेशहरूबाट पहिले नै केन्द्रीय कमिटीमा भएकाहरु र नयाँ आकांक्षी ५-६ दिनअघि नै आइसकेका छन् ।
महाधिवेशन प्रतिनिधिको खाना र बसाइ आफैँ व्यवस्थापन गर्नुपर्ने भएकाले अधिकांश २/३ दिनअघि नै काठमाडौं आएर व्यवस्थापनमा लागेका छन् ।
काठमाडौं वरपरकाबाहेक धेरै प्रतिनिधि आइसकेको एमाले सचिव छविलाल विश्वकर्मा बताउँछन् । आकांक्षीहरू दौडधुपमा व्यस्त छन् । क्षेत्र, जिल्ला र प्रदेश तहको समूह समूह बनाएर आफ्ना धारणा राखिरहेका छन् ।
दाङबाट आएका हुकुम बस्नेतले खानेबस्ने व्वस्थापन प्रतिनिधिलाई नै जिम्मेवारी दिएर राम्रो भएको बताए ।
‘यसरी धेरै पारदर्शी हुन्छ, एकै ठाउँमा गरेपनि बाहिर एमालेले मासुभात खुवायो भनेर चर्चा हुन्छ, अहिले नभए पनि लौ हेर एमालेले प्रतिनिधिलाई केही गरेन भन्ने रडाको सुरु भएको छ, एमालेविरुद्ध यति धेरै किन ? जे गरे पनि अपजस । अनि प्रतिनिधि आफैँले व्यवस्थापन गरेर बस भन्नु त मलाई राम्रो लागेको छ’ उनले भने ।
हुम्लाका दल रावल समस्या परेकाहरूलाई सम्पर्क कमिटीहरूले व्यवस्थापन गरेको बताउँछन् । रुकुमपूर्वका नन्दलाल शर्मा सबै आ-आफ्नो तरिकाले बसेको बताउँछन् ।
दैलेखका लक्ष्मी पोखरेल ४ दिनअघि काठमाडौं आएको बताउँछन् । पार्टीको पोलिटब्युरो सदस्य र संगठन विभागमासमेत रहेकाले उनी पहिले नै आएर आफ्नो जिम्मेवारीमा लागेको बताउँछन् ।
बाँकेका गोविन्द आचार्यले करिब सबै आइसकेको बताए । जाजरकोटका सीपी घर्ती, सुर्खेतका पदम खड्का, दैलेखका रुद्र शाही पनि काठमाडौं आएर आफ्नो व्यवस्थापनमा बसेको बताउँछन् ।
एमाले सचिव योगेश भट्टराईले यसपटक पार्टीले निर्णय नै गरेर सबै प्रतिनिधिलाई खाना र बसाईको व्यवस्थापन आफैँ गर्नुपर्ने पूर्वसूचना गरिएको र समस्या भएका केही जिल्लाका प्रतिनिधिहरूलाई त्यहाँको सम्पर्क कसमटीलाई जिम्मेवारी दिइएको बताए ।
‘काठमाडौंमा धेरै कमरेडहरुको कोही न कोही हुनुहुन्छ, कम्युनिष्ट कार्यकर्ता भएपछि मिलेर बस्न सक्नुपर्छ, यो एक सातालाई हामीले पहिले नै सूचना गरेर आग्रह गरिसकेका छौं, व्यवस्थापन नहुने कमरेडहरुलाई हरेक जिल्लाको सम्पर्क कमिटीले समन्वय गरिरहेको छ’, उनले भने ‘कसैको कोही पनि नुहने वा अफ्ठ्यारोमा परेकालाई साथीभाइकोमा राख्ने भनिएको छ, प्रतिनिधिको आवासको बन्दोबस्त आमरुपमा गरिएको छैन । काठमाडौंमा कोही न कोही आफन्त हुन्छन् नै ।’
अधिकांश प्रतिनिधिहरुले महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा पार्टीका शीर्ष नेताहरूलाई सुझाव दिएका छन् ।
‘मुलुकको विषम परिस्थितिमा पार्टीको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ । समूहमा विभाजन भएर होइन, कम्युनिस्ट पार्टीलाई एक ठाउँमा राख्ने महाधिवेशन बनाउनुपर्छ,’ दैलेखका रुदै शाही भन्छन् ।
नेतृत्व चुन्न आएका प्रतिनिधिहरू लामो समय काठमाडौं बस्न असज हुने भएकाले छिटो नेतृत्वको विषय टुंगाउन आफ्ना नेताहरूलाई आग्रह गरिरहेका छन् ।
यसपटक पहिलेको केन्द्रीय कमिटीमा रहेका अधिकांश दोहोरिन चाहेको र नयाँ पनि उत्तिकै संख्यामा रहेकाले आकांक्षीको व्यवस्थापन बढी चुनौती बनेको छ । त्यसमाथि पहिले केही नबोलेका अधिकांश प्रतिनिधि काठमाडौं पुगेपछि भने उम्मेदार बन्ने रहर जागेकाले पनि धेरै आकांक्षी बढेका हुन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्