नेकपामा ३ प्रकारका सदस्य रहने
तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा तीन प्रकारका पार्टी सदस्य रहने भएका छन् ।
सो पार्टीको अन्तरिम विधान–२०८२ को परिच्छेद–५ मा तीन प्रकारका पार्टी सदस्य रहने उल्लेख छ । जसमा पार्टी सदस्य, सङ्गठित सदस्य र मानार्थ पार्टी सदस्य हुने व्यवस्था गरिएको छ ।
विधानको धारा १६ मा पार्टी सदस्य हुन ८ योग्यता पूरा भएको हुनुपर्नेछ । जसमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, नैतिकवान् र स्वच्छ चरित्र भएको, फौजदारी कसुरमा दोषी ठहर नभएको, प्रचलित कानुनले अयोग्य नभनेको, अन्य दलको सदस्य नभएको, पार्टी सिद्धान्त कार्यक्रम नीति र विधानको सामान्य जानकारी राख्ने र त्यसलाई आत्मसात गर्न तत्पर भएको व्यक्ति मात्र पार्टी सदस्य हुनेछ ।
त्यस्तै विधानको धारा १८ मा सङ्गठित सदस्यको व्यवस्था गरिएको छ । सङ्गठित सदस्य हुन तीन वटा प्रावधान राखिएको छ । जसमा कम्युनिस्ट आचरण र नैतिकताको पालना गर्न, सार्वजनिक जबाफदेहिता वहन गर्न र पारदर्शी जीवन शैली अपनाउन प्रतिबद्ध रहेको हुनुपर्ने उल्लेख छ । त्यस्तै पार्टी स्कुलबाट सञ्चालित कक्षा वा प्रशिक्षणमा सहभागी भएर प्रमाणपत्र प्राप्त भएको व्यक्ति मात्र सङ्गठित सदस्य बन्न पाउने नेकपाको विधानमा उल्लेख छ ।
विधानको धारा–२० मा मानार्थ पार्टी सदस्यताको व्यवस्था गरिएको छ । जसमा वामपन्थी, प्रगतिशील, लोकतान्त्रिक र सामाजिक आन्दोलनमा विशिष्ट भूमिका खेलेका र राष्ट्र तथा समाजको लागि विशेष योगदान गरेका विशिष्ट व्यक्तिलाई केन्द्रीय कार्य समितिले पार्टीको मानार्थ सदस्यता प्रदान गर्न सक्ने उल्लेख छ । आश्चर्य त के छ भने मानार्थ सदस्यता मरणोपरान्त पनि प्रदान गर्न सकिने व्यवस्था विधानमा उल्लेख छ ।
‘उपधारा (१) बमोजिमको मानार्थ सदस्यता मृत्युपछि पनि प्रदान गर्न सकिने छ’, विधानको धारा २० को उपधारा २ मा भनिएको छ ।
मानार्थ सदस्यता सम्मानका लागि भएकाले मानार्थ सदस्यको आचरण खराब भएमा उक्त मानार्थ सदस्यता फिर्ता गर्न सकिने समेत उल्लेख छ ।
२००६ सालको अविपन्न उत्तराधिकारी
नेपाली कम्युनिस्ट पार्टीले आफूलाई २००६ साल वैशाख १० (२२ अप्रिल १९४९) मा स्थापित नेपाल कम्युनिस्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी रहेको दाबी गरेको छ । नेकपा एमालेले पनि आफूलाई मूल कम्युनिस्ट अर्थात् २००६ सालकै नेकपाको उत्तराधिकारी दाबी गर्दै आएको छ ।
नवगठित नेपाली कम्युनिस्ट पार्टीले विधानको प्रस्तावनामै नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक नेतृत्वदायी सङ्गठनका रूपमा प्रस्तुत गरेको यो पार्टीको उद्देश्य नेपाली समाजमा रहेका सबैखाले शोषण, दमन र उत्पीडन तथा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, सामाजिक, आर्थिक र सांस्कृतिक विभेदहरूको अन्त्य गरेर सामाजिक न्यायसहितको स्वतन्त्रता र समतामूलक एवम् समृद्ध समाज निर्माण गर्नु रहेको जनाएको छ ।
साम्यवादी समाज निर्माणको लक्ष्य
नेपाली कम्युनिस्ट पार्टीको रणनीतिक लक्ष्य नेपाली विशेषताको वैज्ञानिक समाजवाद भएकाले उच्चतम शोषणरहित एवं विभेदरहित साम्यवादी समाज निर्माण गर्ने रहेको जनाइएको छ । ‘यस पार्टीको रणनीतिक लक्ष्य नेपाली विशेषताको वैज्ञानिक समाजवाद हो र उच्चतम लक्ष्य शोषणरहित एवम् विभेदरहित साम्यवादी समाज निर्माण गर्नु हो’, विधानको प्रस्तावनामा भनिएको छ, ‘यो पार्टी नेपाली जनताद्वारा सञ्चालित शान्तिपूर्ण र सशस्त्र सङ्घर्षहरूको परिणामस्वरूप प्राप्त उपलब्धिहरूको रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्न प्रतिबद्ध छ ।’
मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाएको उक्त पार्टीले सङ्गठनात्मक सिद्धान्तका रूपमा जनवादी केन्द्रीयता रहने उल्लेख छ ।
‘यस पार्टीको निर्माण र सञ्चालन सामूहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्व वहन गर्ने गरी हुनेछ, पार्टीमा आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन रहनेछ’, विधानमा भनिएको छ, ‘पार्टीको सङ्गठनात्मक संरचना मुलुकको सङ्घीय संरचना अनुरूप हुनेछ ।’
पार्टीका सबै समितिहरू समानुपातिक समावेशी चरित्रका हुने जन आधारित कार्यकर्ता पार्टीका रूपमा रहने यस पार्टीको सार्वभौम अधिकार पार्टीका सङ्गठित सदस्यहरूमा रहने र त्यसको प्रयोग विधान बमोजिम हुने उल्लेख छ ।
पार्टीको कार्यकारी अधिकार पार्टी समितिमा रहनेछ र त्यसको प्रयोग विधान बमोजिम हुने वैधानिक व्यवस्था गरेको यस पार्टीले आम नेपाली जनसमुदायसँग घनिष्ठ सम्बन्ध राख्दै सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, अत्याचार, असमानता र विभेदको समाप्तिका लागि सङ्घर्ष गर्नु र निस्वार्थ रूपमा देश, जनता र क्रान्तिको सेवामा समर्पित हुनु सदस्यहरूको कर्तव्य ठानेको छ ।
यी लगायतका आधारभूत मान्यतामा सहमत भई एकताबद्ध भएका विभिन्न कम्युनिस्ट तथा समाजवादी पार्टीहरूद्वारा संयुक्त रूपमा कात्तिक १९ गते काठमाडौँमा आयोजित एकता राष्ट्रिय सम्मेलनबाट पार्टीको अन्तरिम विधान स्वीकृत गर्दै जारी गरिएको हो।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्