Techie IT
शुक्रबार, कात्तिक ८,२०८२

एक महिनासम्म सार्वजनिक नभएका देउवा सम्मानजनक बहिर्गमनको खोजी


काठमाडौं । जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको कुटपिटबाट घाइते भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्ला राजनीतिक हलचलबीच आफ्ना निकट नेताहरूसँग आन्तरिक छलफल थालेका छन् ।

इतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा निकट समूहले देउवाविरुद्ध विशेष महाधिवेशन बोलाउन हस्ताक्षर संकलन सुरु गरेपछि देउवा सक्रिय बनेका हुन् ।

नेतृत्व परिवर्तनको चर्को दबाबबीच देउवा असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकको तयारीमा छन् । यद्यपि, उनी हालसम्म सार्वजनिक रूपमा देखा परेका छैनन् ।

इतर पक्षले २५ गतेसम्ममा विशेष महाधिवेशन माग गर्न आवश्यक ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाउने तयारी गरेको छ । तर, देउवा निकट नेताहरूका अनुसार उनी विशेष महाधिवेशनको पक्षमा नभई नियमित महाधिवेशनमार्फतै नेतृत्व हस्तान्तरण गर्न चाहन्छन् ।

देउवाको निकट एक नेताले भने, ‘सभापतिले विभिन्न विकल्पबारे छलफल सुरु गर्नुभएको छ । उहाँ विशेष महाधिवेशनका पक्षमा हुनुहुन्न, बरु मंसिरभित्र नियमित महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने सोचमा हुनुहुन्छ ।’

इतर पक्षले आफ्नो अडान नछाडे कार्यवाहक तोक्ने विकल्पबारे पनि छलफल भइरहेको बताइन्छ ।

देउवा निकट प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘नेतृत्व परिवर्तन स्वाभाविक प्रक्रियाबाट नै हुन्छ । अहिले नियमित महाधिवेशनको तयारी भइरहेको छ, जहाँ सभापति दोहोरिन नपाउने वैधानिक व्यवस्था पनि छ । उहाँ आफैंले पनि अब दोहोरिने प्रयास नगर्ने बताइसक्नुभएको छ ।’

उनका अनुसार केही नेताहरू विशेष महाधिवेशनको कुरा गरे पनि देउवा पक्ष नियमित प्रक्रियामै अडिग छ । उनले थपे, ‘सभापतिले सबैलाई मिलाएर पार्टीलाई अघि बढाउनु भएको छ । अहिले उहाँको स्वास्थ्य पहिले जस्तो सशक्त नभए पनि पार्टीलाई एकढिक्का बनाउन उहाँले सबैलाई त्यसै अनुरूप काम गर्न आग्रह गर्नुभएको छ ।’

विश्वकर्माले २६ गतेको बैठकमा कार्यवाहक तोक्ने सम्भावनासमेत खुला रहेको बताए ।

शेखर, गगन, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत नेताहरू देउवा नेतृत्वमा पार्टीलाई आगामी चुनावमा लैजान नसकिने निष्कर्षमा पुगेका छन् । तर, संस्थापन पक्ष ती गतिविधिप्रति असन्तुष्ट देखिएको छ ।

देउवा निकट प्रवक्ता प्रकाशशरण महतले महामन्त्रीद्वयका पछिल्ला कदमप्रति आक्रोश प्रकट गर्दै आएका छन् ।

उता, नेतृत्व परिवर्तनको पक्षमा रहेका महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘समय बदलिएको छ, अब नेता, कर्मचारी संयन्त्र सबै बदलिनुपर्छ । जो बदलिन्छ, तिनले नेतृत्व लिन्छन्, जो बदलिँदैनन् तिनले बिदा लिन्छन्,’ भन्दै विशेष महाधिवेशनबाट पार्टी कमजोर नहुने दाबी गरेका छन् । उनले २४ गतेभित्र महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर गर्न अपिलसमेत गरेका छन् ।

सहमहामन्त्री किशोरसिंह राठोरले पनि २६ गतेको केन्द्रीय समिति बैठकबाट नेतृत्व परिवर्तनबारे निर्णय हुने बताए । उनका अनुसार, ‘सभापतिले छलफल थाल्नुभएको छ । केन्द्रीय समितिमा नेतृत्व हस्तान्तरणबारे अन्तिम सल्लाह हुनेछ ।’

केन्द्रीय सदस्य रामहरि खतिवडाले भने, ‘देउवा अब फेरि सभापति नउठ्ने निश्चित भइसकेको छ । अब नयाँ नेतृत्व आउनेछ र पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बेला आएको छ ।’

उनका अनुसार, बैठक सभापतिसँग समन्वयमै बोलाइएको हो, र देउवा निरन्तर उपसभापति र महामन्त्रीहरूसँग सम्पर्कमा छन् । मंसिरमा कार्यसमितिको कार्यकाल सकिने भएकाले त्यसअघि नै नेतृत्वबारे अन्तिम निर्णय हुने पनि उनले बताए ।

खतिवडाले थपे, ‘विशेष महाधिवेशन गर्ने कि नियमित, त्यसको निर्णय केन्द्रीय समितिले नै एकमत भएर लिन्छ । सभापतिले चाहें भने कार्यवाहक तोक्ने अधिकार उहाँकै हातमा छ । सम्भवतः उपसभापतिहरूमध्येकै एकलाई कार्यवाहक तोक्न सक्नुहुन्छ ।’

अघिल्ला पटक देशबाहिर जाँदा जस्तै, देउवाले यो पटक पनि आफ्ना निकट पूर्णबहादुर खड्कालाई कार्यवाहक तोक्ने सम्भावना छ ।

केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले भने, ‘हाम्रो कार्यकाल मंसिरमा सकिँदैछ, त्यसैले महाधिवेशन अपरिहार्य छ — अब विशेष गर्ने कि नियमित भन्ने मात्र फरक हो । यो विषम अवस्थामा पार्टीलाई नयाँ ढंगले अघि बढाउनै पर्छ ।’

उनका अनुसार सभापतिले आफ्नो आधिकारिक धारणा केन्द्रीय समिति बैठकमै सार्वजनिक गर्ने तयारी गरेका छन् ।
‘उहाँले अब नेतृत्व छाड्छु कि निरन्तरता दिन्छु भन्ने कुरा बैठकमै स्पष्ट हुन्छ,’ रसाइलीले भने, ‘ठोस निष्कर्ष २६ गतेको बैठकबाटै आउनेछ ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #देउवा


तपाईको कमेन्ट लेख्नुहोस्