Techie IT
शुक्रबार, कात्तिक ८,२०८२

राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनुपर्छ : महेश बर्तौला


असोज । नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका हुन् ।

जेनजीको शान्तिपूर्ण आन्दोलनभित्र सुनुयोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने काममा अर्यालको संलग्न रहेको बर्तौलाको दाबी छ ।

‘प्रहरीबाट लुटिएका हतियारहरु (बन्दुक र गोली) कहाँ र कोसँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिसत रहेको हुनुपर्दछ । किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरुसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलन भित्र सुनुयोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन् ।’ बर्तौलाले फेसबुकमा लेखेका छन्, ‘हाम्रो इतिहास, सम्पदा र दस्तावेजहरु छानी छानी नष्ट गर्ने, व्यक्तिका घरहरु, व्यवसायिक भवनहरु तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन् । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकीहरु लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रकाविरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन् यिनी ।’

शान्तिपूर्ण आन्दोलनमा अर्यालको सुनुयोजित घुसपैठको सम्बन्ध रहेको बर्तौलाको दाबी छ । ‘शुद्ध नेपाली जेनजीहरुले पनि यो कुरा बुझुन कि शान्तिपूर्ण आन्दोलन भित्र उनको घुसपैठको यहि नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र सफत ग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणहरुमा संलग्न दोषी र अपराधीहरूलाई प्रयाप्त प्रमाणहरु रहँदारहँदै पनि कानुनी कारबाही नगर्न लिखित निर्देशन नै दिए । जसका कारण अहिले मुलुकमा अराजकता , दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको छ । त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बरखास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइनु ।’ बर्तौलाले फेसबुकमा लेखेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #महेश बर्तौला


तपाईको कमेन्ट लेख्नुहोस्