Techie IT
मंगलबार, असार २४,२०८२

टोखा नगरपालिकाबाट श्री बिच बिनायक गणेश मन्दिरलाई ५० लाखको अक्षयकोष, पुरानो गुठी भवन हटाई सार्वजनिक बाटो फराकिलो बनाइँदै


काठमाडौं, असार २४ – टोखा नगरपालिकाले धार्मिक, सांस्कृतिक र सार्वजनिक हितलाई समेट्ने ऐतिहासिक निर्णय गर्दै श्री बिच बिनायक गणेश मन्दिर गुठीको नाममा ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ। साथै, दशकौँदेखि सडक अतिक्रमणमा परेको गुठी भवन हटाएर मन्दिर अगाडिको साँघुरो बाटो फराकिलो बनाउने प्रक्रिया  औपचारिक रूपमा सुरु गरिएकोछ।

नगरप्रमुख प्रकाश अधिकारी, उपमेयर, वडा नं. ८, ९, १०, ११ का अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, लेखा प्रमुख ताराप्रसाद निरौला, गुठी प्रतिनिधि र स्थानीय समाजसेवीहरूको उपस्थितिमा आयोजित विशेष कार्यक्रममा गुठीलाई चेक हस्तान्तरण गरिएको हो।

श्री बिच बिनायक गणेश मन्दिर काठमाडौं उपत्यकाको एक प्रसिद्ध प्राचीन धार्मिक स्थल हो। यहाँ दैनिक सयौँ भक्तजनको ओहोरदोहोर हुने गर्छ। तर, मन्दिरको एकातिर मन्दिर र अर्कोतिर गुठीको भवन परेपछि बाटो अत्यन्त साँघुरो बनेको थियो।

उक्त गुठी भवनको भुइँतल्लामा पूजा सामग्री राखिन्थ्यो भने माथिल्लो तल्लामा नियमित भजन–कीर्तन सञ्चालन हुन्थ्यो। तर सो भवन सडकमै परेकाले वर्षौँदेखि स्थानीय बासिन्दा र भक्तजनहरूलाई आवतजावतमा असहज हुँदै आएको थियो।

वडा अध्यक्षहरू, नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको पहलमा गुठीसँग धेरै चरणको छलफलपछि सहमति जुटाइएको हो। गुठी भवन हटाउने सट्टा गुठीको सेवा कार्य स्थायित्व पाओस् भनेर नगरपालिकाले ५० लाख रुपैयाँको अक्षयकोष दिने निर्णय गरेको हो, जुन प्रस्तावलाई गुठीले स्वीकार गरेको हो।

गुठीका सेवा कार्य अब मन्दिर नजिकै रहेको वडा नं. १० को भवनमा सन्चालन गरिनेछ। सो भवनको चाबी पनि औपचारिक रूपमा गुठीलाई हस्तान्तरण गरिएको छ। गुठीले नयाँ स्थानमा आफ्नो नामसहितको बोर्ड जडान गरिसकेको छ, जसले संस्थाको पहिचान र कार्य निरन्तरतामा कुनै अवरोध नहोस् भन्ने सुनिश्चित गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका अनुसार केही दिनभित्रै गुठीको पुरानो भवन भत्काइनेछ। त्यसपछि बाटो फराकिलो भई स्थानीयवासी र भक्तजनलाई सहज रूपमा आवतजावत गर्न सकिनेछ।

नगरप्रमुख प्रकाश अधिकारीले भने, “धार्मिक मान्यता, परम्परा र सार्वजनिक आवश्यकतालाई सन्तुलनमा राख्दै सबै पक्षलाई खुसी तुल्याउने निर्णय लिन सक्नु ठूलो सफलता हो। यस्तो समन्वयात्मक निर्णयले नगरपालिकाको क्षमता झल्काउँछ।”

टोखा नगरपालिकाले पछिल्लो समय सार्वजनिक सम्पत्तिमा गरिएको अतिक्रमण हटाउन विशेष अभियान चलाईरहेको छ। बिच बिनायक मन्दिर छेउको गुठी भवन हटाउने सहमतिलाई  स्थानीय बासिन्दाहरुले समेत अत्यन्त सकारात्मक रूपमा लिएकाछन।

कार्यक्रममा सहभागी स्थानीयवासी, गुठी प्रतिनिधि, जनप्रतिनिधि र कर्मचारी सबैले आपसी समझदारी र सहकार्यको माध्यमबाट समाधान खोजिएकोमा खुसी व्यक्त गरेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकाबाट श्री बिच बिनायक गणेश मन्दिरलाई ५० लाखको अक्षयकोष, #पुरानो गुठी भवन हटाई सार्वजनिक बाटो फराकिलो बनाइँदै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Thunderstorm
5:13 am7:04 pm +0545