असार मसान्तभित्र प्रतिवेदन पठाउन महासचिवको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रतिवेदनको तयारीका सन्दर्भमा प्रदेश र जिल्ला कमिटीहरूलाई असार मसान्तभित्र लिखित प्रतिवेदन पठाउन निर्देशन दिनुभएको छ ।
पार्टीको कोशी र मधेश प्रदेशमा पार्टीबाट तोकिनुभएका इन्चार्जहरू, प्रदेश कमिटीका अध्यक्ष तथा अन्तर्गतका जिल्ला कमिटीका अध्यक्ष र पदाधिकारीहरूसँगको बैठकलाई आज केन्द्रीय कार्यालयबाट भर्चुअल सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको विधान महाधिवेशन नीति र विधि निर्माणको महाधिवेशन भएकाले त्यस काममा केन्द्रित हुन आग्रह गर्नुभयो ।
पार्टीको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा आयोजना गर्ने निर्णय भएको छ । केन्द्रीय सचिवालयको बैठकले राजनीतिक प्रतिवेदन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सङ्गठनात्मक प्रतिवेदनको जिम्मेवारी महासचिव पोखरेललाई दिएको छ ।
महासचिव पोखरेलले विधान महाधिवेशनमा नीति र विधि निर्माणको काम हुने र राष्ट्रिय महाधिवेशनबाट नेतृत्वको टुङ्गो लाग्ने हुँदा यतिवेला नीति र विधि निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
पार्टीको राष्ट्रिय महाधिवेशनको मितिसमेत निर्धारण भइनसकेको अवस्थामा अहिलेदेखि नै नेतृत्वका सन्दर्भमा पक्ष विपक्षमा धार सिर्जना गर्ने प्रयास सञ्चार माध्यमहरूबाट हुन थालेको बताउँदै महासचिव पोखरेलले नीति र विधि निर्माणको काममा केन्द्रित हुन आग्रह गर्नुभयो । उहाँले पार्टीलाई कमजोर बनाउने गरी सुरु भएका चर्चा र टिकाटिप्पणीप्रति कार्यकर्तालाई सचेत गराउन जिल्ला नेतृत्वलाई निर्देशन दिनुभयो ।
यतिबेला पार्टीले अगाडि सारेको मिसन–२०८४ सफल बनाउन एकताबद्ध नेतृत्व निर्माण आवश्यक रहेको बताउँदै महासचिव पोखरेलले नेतृत्वको विषय पनि पार्टीले एकताबद्ध प्रक्रियाबाट टुङ्गो लगाउने छ भन्नुभयो । अहिले राष्ट्रिय महाधिवेशन नभएको समयमा नेतृत्वका विषयमा चर्चा परिचर्चा आवश्यक नभएको उहाँले प्रष्ट पार्नुभयो ।
जतिबेला जे काम गर्नुपर्ने हो त्यसैमा केन्द्रित हुनुपर्ने बताउँदै महासचिव पोखरेलले नवीकृत पार्टी सदस्यता असार मसान्तभित्र प्रमाणीकरण गर्नुपर्ने हुँदा सोही अनुसार केन्द्रीय सङ्गठन विभागमा पठाउन निर्देशन दिनुभयो । उहाँले सङ्गठनात्मक प्रतिवेदनमा समावेश गर्न प्रदेश र जिल्ला कमिटीले पठाउनुपर्ने विषय बारेमा पनि जानकारी गराउनुभयो ।
महासचिव पोखरेलले पुराना कार्यकर्ता, पार्टी प्रवेश प्रक्रियाबाट पार्टीमा जोडिनुभएका साथीहरू, जनसङ्गठनका अधिवेशनपछि कमिटीबाट बाहिरिनुभएका कार्यकर्तालाई व्यवस्थापन गरी भूगोलमा क्रियाशील बनाउने विषयमा ध्यान दिन पनि प्रदेश तथा जिल्ला कमिटीहरूलाई गृहकार्यका लागि ध्यानाकर्षण गर्नुभयो ।
बैठकमा दुबै प्रदेशका इन्चार्ज, पार्टी अध्यक्ष र सबै जिल्ला कमिटीका अध्यक्ष तथा पदाधिकारीहरूले आ–आफ्ना जिल्लाका कामको रिपोर्टिङ गर्नुभएको थियो । उहाँहरूले पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गरिसकेको, पालिका, वडा तहका कमिटीका अधिवेशन, टोल कमिटी गठन, जनसङ्गठनहरूको क्रियाशीलता लगायत विषयमा जानकारी गराउनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #असार मसान्तभित्र प्रतिवेदन पठाउन महासचिवको निर्देशन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्