एमालेले विगतका कुनै पनि शासकले कल्पनासमेत नगरेको काम गरेर देखाएको छ’
काठमाडौं, १२ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको समृद्धि, राष्ट्रिय स्वाधीनता र युवाको भविष्यका लागि एमालेले विगतका कुनै पनि शासकले कल्पनासमेत नगरेको काम गरेर देखाएको बताएका छन् ।
बिहीबार एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले देश बनाउन सक्छ भन्ने सन्देश दिएको बताए । उनले भने, ‘देश बनाउन सक्छ एमालेले भन्ने सन्देश हामीले पुष्टि गरेका छौँ, एमाले कुरा मात्र होइन, कामद्वारा आफूलाई प्रमाणित गर्दछ, विगतका शासकको दिमागमा नचढ्ने काम हामीले गर्न सफल भएका छौँ ।’

एमालेको नेतृत्वमा रहेको सरकारद्वारा ग्यास, फलामजस्ता खानीको पहिचान, पूर्वाधार निर्माणको थालनी र दिगो आर्थिक रूपान्तरणको खाका कोरेर नयाँ युगको सुरुआत गरेको उनले बताए । यी विषय विगतका शासकले कल्पना पनि नगरेका विषय भएको उनको भनाइ थियो ।
महासचिव पोखरेलले विशेष रूपमा नेपाली युवा विदेश पलायनको बढ्दो दरप्रति चिन्ता व्यक्त गरे । नेपाली युवाहरू केवल बाध्यताले मात्र नभई परम्परागत ‘लाहुरे संस्कृति’को प्रभावले पनि विदेश जाने गरेका उनको भनाइ छ । ‘हिजो भारततिर जान्थे, आज तेस्रो मुलुकतिर जान लागेका छन्’, उनले भने ।
उनले यो समस्याको समाधान केवल नारा र भावना होइन, राज्य, राजनीति र समाजसँग नयाँ पुस्तालाई अर्थपूर्ण ढङ्गले जोड्न सकिएको खण्डमा मात्र सम्भव हुने स्पष्ट पारे । त्यसैले अहिलेको सरकारको बजेट तथा कार्यक्रममा यो कुरामा ध्यान दिइएको उनले बताए । ‘सरकारको नीति, कार्यक्रम र बजेटले नयाँ पुस्तालाई नेपालमै अवसर दिने, स्वरोजगार र उत्पादनसँग जोड्ने दिशामा अघि बढेको छ’, उनले भने ।
बजेटले रोजगारी सिर्जना, स्टार्टअप प्रवर्द्धन, कृषिको आधुनिकीकरण, उद्यमशीलता र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उनको दाबी छ । ‘यो कार्यक्रमले युवालाई देशभित्रै राख्ने प्रयास गरेको छ’, पोखरेलले भने ।

सरकारको नीति तथा कार्यक्रमप्रति उठेका आलोचनाबारे उनले प्रतिक्रिया दिँदै भने, ‘कतिपय गुनासा स्वाभाविक छन्, तर समग्रमा बजेट सन्तुलित, उद्देश्ययुक्त र कार्यान्वयनमुखी छ, यसको प्रभावकारी कार्यान्वयन भयो भने थुप्रै संरचनात्मक समस्याहरू समाधान गर्न सकिन्छ ।’
पोखरेलले एमालेलाई आधुनिक राष्ट्र निर्माणको पर्यायका रूपमा चित्रण गर्दै विगतमा एमाले नेतृत्वमा भएका सरकारहरूकै पालामा राष्ट्रिय पहिचान, स्वाधीनता, उत्पादनशीलता र आधुनिक पूर्वाधार विकासका अभियान चलेको स्मरण गराए । ‘ग्यास र फलाम खानी पत्ता लगाउनेदेखि लिएर राष्ट्रिय गौरवका आयोजनाहरूको जग हामीले राखेका हौँ’, उनले भने ‘योजना त केवल खाका हो, हामीले त तिनलाई क्रियान्वयनमा पुर्याउने आँट गरेका छौँ ।’
उनले वर्तमान राजनीतिमा एमालेमाथि हुने प्रहार र आलोचना एमालेको शक्ति र स्थायित्वको कारणले भएको पनि उल्लेख गरे । एमाले र देशलाई कमजोर बनाई सामाजिक अराजकता मच्चाउन सकिन्छ भन्नेहरूले नियोजित रूपमा पार्टी र नेतृत्व माथि हमला गरेको उनको भनाइ छ । ‘जब एमाले बलियो हुन्छ, अराजकता फैलाउन नसकिने स्थिति आउँछ, त्यही कारण हामीमाथि हमला भइरहेका छन् ।’ उनले भने ।
पार्टीभित्रको अनुशासन र कार्यकर्ताहरूको भूमिकाबारे पनि पोखरेलले आलोचनात्मक धारणा राखे । उनले भोज भतेर, जन्मदिन र सवारीको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्ने तर पार्टीको वैचारिक बहस, आन्दोलन र नीति निर्माणमा चासो नदेखाउने प्रवृत्ति बढेको बताए । पार्टीभित्र नेतृत्वबारे भइरहेका चर्चामा पोखरेलले असन्तुष्टि व्यक्त गर्दै अहिले नेतृत्वको बहस गर्ने बेला नभएको बताए । अधिवेशनको समयमा नेतृत्वबारे छलफल गरी टुङ्ग्याउन एमाले सक्षम रहेको बताए । अहिले पार्टी बलियो बनाउन एकतामार्फत अघि बढ्ने बेला भएको पोखरेलले स्पष्ट पारे ।
बैठकमा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेल लगायतका केन्द्रीय नेताहरूका साथै बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, उपसचिव भक्तकुमारी लामा लगायतको उपस्थिति थियो ।





क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेले विगतका कुनै पनि शासकले कल्पनासमेत नगरेको काम गरेर देखाएको छ’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्