राजावादी आन्दोलन अर्को चरणमा, नयाँ रणनीति बनाउन मोर्चाको बैठक आज बस्दै

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा सुरु भएको आन्दोलन अर्को चरणमा प्रवेश गरेको छ । राजावादी घटकहरू आन्दोलनको नयाँ खाका बनाउनका लागि आज बैठक बस्ने भएका छन् ।
गत चैत १५ गतेबाट सुरु भएको आन्दोलन हिजो एक साता पार भएको हो । पहिलो साताको आन्दोलनमा व्यापक जनसहभागिता भएको निष्कर्ष समितिले निकालेको छ । तर, सरकारले काठमाडौंका तीन स्थानबाहेक सबैतिर निषेधाज्ञा जारी भएपछि आन्दोलनलाई कसरी निरन्तरता दिने भन्नेमा राजावादी मोर्चा स्पष्ट भइसकेको छैन । यसै विषयमा आज बैठक बोलाइएको हो ।
संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल आन्दोलनको स्वरूप र शैली फेरिने बताउँछन् । अहिलेसम्म भद्र र शान्तिपूर्ण आन्दोलन गरिएकोमा सरकारले झनै अधिनायक शैली प्रदर्शन गरेपछि आफूहरूले पनि समीक्षा गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
‘हाम्रो आन्दोलनको सुनवाइ र माग सम्बोधन गर्नुको साटो सरकारले उल्टो सबैतिर निषेधाज्ञा लगाएर अधिनायकवाद प्रदर्शन गर्यो,’ उनले भने, ‘तर, सरकारले तोकिदिएको तीन ठाउँमा मात्रै आन्दोलन सीमित हुँदैन । यस्तो निषेधाज्ञा हामीलाई मन्जुर छैन ।’
धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा आज २ बजे बस्ने बैठकमा ४४ वटै राजावादी घटकहरूको सहभागिता रहने भएको छ ।
राजावादी प्रमुख दल राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनबाट बाहिरिएको भनेर गरिएको प्रचारबाजीलाई नेपालले खण्डन गरे ।
उनले भने, ‘बाहिर अनर्गल प्रचारहरू भइरहेका छन् । मैले नबोलेका कुराहरूसमेत समाचार बनाइयो । राप्रपा आन्दोलनको अग्र मोर्चामै छ । आजको बैठकमा राप्रपाको सहभागिता हुन्छ ।’
राप्रपाले पनि हिजो एक विज्ञप्ति जारी गर्दै पार्टीको विषयमा विभिन्न सञ्चारमाध्यममा दुष्प्रचार गरिएको भन्दै खण्डन गरेको थियो ।
विज्ञप्तिमा राप्रपाले भनेको छ, ‘राप्रपा जारी आन्दोलनको अग्रमोर्चामा दृढताका साथ खडा हुँदै गर्दा केही सञ्चारमाध्यममा राप्रपा, राप्रपाको नेतृत्व र समग्र आन्दोलनलाई निष्प्रभावी एवं भ्रम पार्ने गरी समाचार सम्प्रेषित भएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । राप्रपा जारी आन्दोलनलाई निष्कर्षमा पुर्याउन पूर्ण प्रतिबद्ध छ र निरन्तर आन्दोलनको अग्रभागमा रहनेछ ।’
राप्रपाले पार्टी र नेतृत्वबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा छरिने वा छरिएका सबैखाले भ्रमको सामूहिक प्रतिवाद गर्न सम्पूर्ण पार्टी पङ्क्तिलाई आह्वान गरेको छ ।
प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनर्गल भ्रम छर्ने कार्यमा राप्रपाको कुनै पनि तहको नेता, कार्यकर्ता संलग्न भएको देखिएमा कडा अनुशासनको विषय बन्ने मात्र होइन कारबाहीको भागीदार समेत हुनुपर्ने कार्यसम्पादन बैठकको निर्णय रहेको छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नयाँ रणनीति बनाउन मोर्चाको बैठक आज बस्दै, #राजावादी आन्दोलन अर्को चरणमा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्