Techie IT
शनिबार, असार १३,२०८३

दोस्रो चरणको चक्रपथ विस्तार: कंलकी–बसुन्धरा–धोबीखोला खण्डमा काम सुरु हुने , चिनियाँ टोली आउने तयारी


दोस्रो चरणको चक्रपथ अन्तरगत कंलकी देखि बसुन्धरा हुँदै धोबीखोला पुलसम्म पर्ने सडकखण्डको विस्तार आगामी आवदेखि नै थालिने भएको छ ।

सडक विभागका अनुसार, चीन सरकारको अनुदान सहायतमा निर्माण गर्ने भनिएको उक्त खण्डको सडक विस्तार कार्य अहिलेसम्म अघि बढ्न भने सकेको छैन् ।

सडक विभागले २ वर्षअघि नै चक्रपथ विस्तारका लागि पूर्व तयारीका काम सम्पन्न गरिसकेको भए पनि चिनिँया पक्षले चक्रपथ विस्तारमा रुची देखाएको थिएन् । अर्थात, चिनियाँ निर्माण कम्पनी चक्रपथ विस्तारको आयोजना स्थलमा मुभिलाइज नै हुन सकेको छैन् ।

तर, आगामी आवदेखि चिनियाँ पक्षले चक्रपथ विस्तार कार्य अघि बढाउने सडक विभागका महानिर्देशक डा. बिजय जैशीले  बताए ।

उनका अनुसार, लामो समयदेखि अघि बढ्न नसकेको दोस्रो चरणकाे चक्रपथको विस्तारको काम आगामी आवदेखि सुरु हुनेछ । आगामी आवदेखि नै सडक विस्तार गर्न सरकारले १ अर्ब २४ करोड बजेट समेत विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८२/०८३ का लागि विहीबार अर्थमन्त्री विष्णु पौडेलले दोस्रो चरणकाे चक्रपथ विस्तारका लागि उक्त बजेट विनियोजन गरेको बताएका थिए ।

पहिलो चरणमा कलंकी देखि बसुन्धराखण्डको सडक विस्तारकार्य अघि बढ्ने जैशीले बताए । ‘चक्रपथ विस्तारकार्य सुरु गर्न पटक पटक चिनिँया पक्षलाई आग्रह गर्दै आइरहेको र पछिल्लो पटक चिनिँया पक्ष चक्रपथ विस्तार कार्य थाल्न आउने कुरामा सकारात्मक देखिएको छ,’ उनले भने, ‘आगामी आवदेखि दोस्रो चरणको चक्रपथ विस्तारकार्य अघि बढ्छ । चाइनीज पक्ष पनि सकारात्मक छ । हामीले बजेट पनि छुट्याएका छौं ।’

आगामी ६ महिनाभित्र चक्रपथ विस्तार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार गर्ने र त्यस लगत्तै चिनिँया पक्षलाई सडक निर्माण गर्न हस्तान्तरण गर्ने विभागका महानिर्देशक जैशीले बताए ।

चक्रपथ विस्तार गर्न २०७५ सालमा नेपाल सरकार र चीन सरकारबीच दुइपक्षीय सम्झौता भएको थियो । तर, डीपीआरलगायतका कारणले गत वर्ष कलंकीदेखि महाराजगन्जसम्म ८.२ किलोमिटर खण्डको सडक विस्तार गर्न रुची देखाएकाले नेपाल चीनबीच सम्झौता भएको थियो ।

चार लेनको सो सडक आठ लेनमा विस्तार गर्ने लक्ष्य छ। कलंकी–महाराजगन्ज चक्रपथ खण्ड विस्तार गर्न ६ अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। डिजाइनको फाइनल रिपोर्ट अझै नआएकाले लागत समेत एकिन हुन सकेको छैन।

सो खण्डका विभिन्न तीन ठाउँमा आकासे पुल निर्माण गर्ने प्रारम्भिक अध्ययनले देखाएको छ। चिनियाँ कम्पनीले यसअघि नै सो खण्डको प्रारम्भिक सर्भे तथा अध्ययनको काम गरिसकेको छ। डिपीआर, ठेकेदार, सुपरभिजन र निर्माण सामग्रीको व्यवस्थापन चिनियाँ कम्पनी आफैंले गर्ने गरी आयोजना अघि बढाइने योजना छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दोस्रो चरणको चक्रपथ विस्तार: कंलकी–बसुन्धरा–धोबीखोला खण्ड


तपाईको कमेन्ट लेख्नुहोस्