राजावादीको संयुक्त जनआन्दोलन रत्नपार्क केन्द्रित गर्ने तयारी, एमालेको कता ?
काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंमा राजावादीले जेठ १५ मा संयुक्त आन्दोलनको थालनी गर्दै छन् । यही दिन एमालेले पनि जनप्रदर्शन गर्ने भएपछि सुरक्षा अवस्था संवेदनशील बन्ने देखिएको छ ।
नवराज सुबेदीले नेतृत्व गरेको संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी घटकहरूको सहभागीमा वृहत आन्दोलन हुन लागेको हो । उपत्यका बाहिरबाट समेत मानिसहरू उतारेर काठमाडौंमा शक्ति प्रदर्शन गर्ने राजावादीहरूको तयारी छ । राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन निरन्तर जारी राख्ने उनीहरूले बताइरहेका छन् ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आफ्नो पार्टी पङ्तिलाई गणतन्त्र दिवस मनाउन सडकमा उत्रिने निर्देशन दिए । उनले त्यस दिन काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने भनेर समेत भाषण गरेका छन् । यसबाट एमाले र राजावादीबीच सिधा टकराबको जोखिम उत्पन्न भएको छ ।
संयुक्त जनआन्दोलन समितिले आफ्नो कार्यक्रम रत्नपार्क केन्द्रित गर्ने तयारी गरेको छ । गत शनिवार आयोजित जागरण सभामा १५ गते दिउँसो १२ बजे रत्नपार्क आउन आह्वान गरिएको थियो । यद्यपि, अहिलेसम्म समितिले रत्नपार्कमा प्रदर्शनका लागि प्रशासनसित अनुमति लिएको छैन ।
आन्दोलनको तयारीमा सक्रिय एक राजावादी नेताले यसपालि कसैसँग अनुमति लिइरहनु नपर्ने तर्क गरे । उनले भने, ‘यो सामान्य खालको आन्दोलन नभएर व्यवस्था उल्टाउने जनविद्रोह हो । फलानो ठाउँमा गरौँ ? भनेर सोधिराख्नु पर्दैन । हाम्रो अहिलेसम्मको तयारी रत्नपार्कमा गर्ने भन्ने छ ।’
एमालेले भने काठमाडौंको कुन ठाउँमा प्रदर्शन गर्ने भनेर निश्चित गरेको छैन । गत चैत ११ गते बसेको एमाले सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो । हिजो एमाले केन्द्रीय कार्यालयमा बसेको जनसंगठन अध्यक्ष, इन्चार्ज र काठमाडौं उपत्यकाका वडा तहसम्मका पदाधिकारीको भेलाले जनप्रदर्शन प्रभावकारी बनाउन विभिन्न नेताहरूलाई जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । तर, जनप्रदर्शन कहाँ गर्ने भन्ने औपचारिक निर्णय र घोषणा भएको छैन ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भृकुटीमण्डपमा गर्ने योजना रहेको बताए । यद्यपि, कार्यक्रमको मोडालिटी तय हुन बाँकी रहेको उनको भनाइ छ । ‘अहिलेसम्मको छलफलमा भृकुटीमण्डपको कुरा भएको छ, आज बेलुकासम्म सबै मोडालिटी तय हुन्छ,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले भने एमाले र राजावादी दुवैतर्फबाट कार्यक्रमका लागि अहिलेसम्म अनुमतिका लागि कुनै पनि पत्र नआएको जानकारी दियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेको कता ?, #राजावादीको संयुक्त जनआन्दोलन रत्नपार्क केन्द्रित गर्ने तयारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्