Techie IT
आईतबार, जेठ १२,२०८२

जिवनाथ पोखरेलको नेतृत्वमा ‘मधेश टु महाभारत उल्टो मोटरसाइकल यात्रा’


जीवनराज दाहाल : बर्दिवास, महोत्तरी, ११ जेठ –
कला, संस्कृति संरक्षण तथा स्वस्थ जीवनशैलीको सन्देश फैलाउने उद्देश्यले बर्दिवासका जिवनाथ पोखरेल ‘जेबी’को नेतृत्वमा ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न भएको छ ।

जेठ ९ गते बर्दिवासबाट सुरु भएको यात्रा सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कलाघरसम्म पुगेर समापन गरिएको हो ।

‘मधेश टु महाभारत, सुस्वास्थ्यको सबैमा मुवारक’ भन्ने नारासहित पोखरेलसहित २५ जनाको टोली कलाघरमा पुगेर सांस्कृतिक गतिविधिमा सहभागी भएका थिए ।

कार्यक्रमका संयोजक सुबोध कट्टेलका अनुसार उक्त यात्राको उद्देश्य मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु हो ।“संस्कृतिलाई पर्यटनसँग जोड्दै स्वस्थ वातावरण निर्माण गर्नु हाम्रो लक्ष्य हो,” उनले बताए ।

मुख्य आकर्षण रहेका उल्टो मोटरसाइकल यात्री पोखरेलले वि.सं. २०६३ सालमा शान्तिको सन्देशसहित मेची–महाकाली उल्टो साइकल यात्रा गरिसकेका छन् । उनी केही वर्षदेखि उल्टो मोटरसाइकल कुदाउने अभ्यास गरिरहेका थिए ।

पेशाले स्वास्थ्यकर्मी रहेका पोखरेल गायकसमेत हुन् । उनका आधा दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । हाल उनी उल्टो यात्रा मार्फत गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने प्रयासमा छन् ।

सो कार्यक्रम बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो । बर्दिवास नगरपालिका वडा नं. १ र ३ को साझेदारीमा गरिएको उक्त अभियानमा गौरीवास युथ क्लबको सक्रिय सहयोग रहेको थियो ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:08 am6:52 pm +0545