Techie IT
शनिबार, असार ७,२०८२

पोखरामा युवा संघको १०औँ महाधिवेशन: लबिङमा जुट्दै, पार्टी अध्यक्षको निर्देशन कुर्दै


पोखरा । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा हुँदैछ ।

पोखरा अमरसिंह चौरमा हुने उद्घाटनको सत्रलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आउनेछन् । आज साँझदेखि नै पोखरा सभागृहमा बन्दसत्र सुरु गर्ने तयारी छ ।

संघको नेतृत्वका लागि ५ जनाले आंकाक्षा जनाएका छन् । हालका अध्यक्ष क्षितिज थेबेसहित उपाध्यक्ष महाराज गुरुङ, कृष्णहरि केसी, प्रकाश गौतम र महासचिव सुमन पुरीले आंकाक्षा व्यक्त गरेका छन् । यीमध्ये क्षितिज, महाराज र सुमनबाट एक जना अध्यक्ष बन्ने युवा संघका नेताहरू बताउँछन् । अहिलेका अध्यक्ष क्षितिजले विभिन्न कार्यक्रममा पुनः नदोहोरिने बताए पनि पार्टी पङ्क्ति उनलाई दोहोर्‍याउने पक्षमा देखिन्छन् ।

थेबेले आफ्नो कार्यकालमा केपी ओली कप फुटबल, युवा महोत्सव जस्ता ठूला कार्यक्रम आयोजना गरेकाले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको मन जितेका छन् । त्यसकारण पनि थेबेलाई दोहोर्‍याउने पार्टी नेतृत्वको चाहना छ । त्यसो हुँदा अन्य आंकाक्षीलाई कठिन हुनेछ ।

तर, युवा संघका इन्चार्ज राजीव पहारी, पूर्वअध्यक्ष महेश बस्नेत सहितका नेता थेबेलाई रोक्न लागिपरेका छन् । केही दिनअघि पोखरामा भएको एक कार्यक्रममा इञ्चार्ज पहारीले थेब युवा संघमा नदोहोरिने बताएका थिए ।

युवा संघका एक नेताका अनुसार निर्वाचन हुने बारेमा प्रतिनिधिले खासै सोचेका छैनन् । अन्य जनसंठगनको महाधिवेशनमा पनि पार्टीको हस्तक्षेप भएका कारण यसमा पनि पार्टीकै इच्छामा सर्वसम्मत नेतृत्व चयन हुने ती नेताको दाबी छ ।

थेबे सर्वसम्मतको अवस्थामा मात्रै अध्यक्षमा दाबेदारी गर्नेछन् । निर्वाचन हुने अवस्थामा भने उनको दाबेदारी नरहने उनी निकटस्थ नेता बताउँछन् । ‘पार्टीको इच्छाअनुसार सर्वसम्मत नेतृत्व चयन भएको अवस्थामा उहाँ ९थेबे० अध्यक्ष बन्नुहुन्छ । निर्वाचन हुने अवस्थामा भने उहाँ लड्नुहुन्न,’ उनले भने ।

थेबेपछि हालका महासचिव सुमन पुरी बलिया उम्मेदवार हुन् । उनी उपाध्यक्ष र महासचिव भइसकेका छन् । उनीनिकट स्रोतकाअनुसार उनी निर्वाचन लड्न पनि तयार छन् । पुरी लुम्बिनीका पूर्वमुख्यमन्त्री लीला गिरीका भाञ्जा हुन् । लीला गिरी एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।

महासचिव पुरीले उपाध्यक्ष र महासचिव भएर काम गरिसकेकाले आफ्नो दाबेदार स्वभाविक रूपमा अध्यक्षमा रहेको बताए । उनी निर्वाचन भए पनि लड्न तयार देखिन्छन् । तर, पार्टी नेतृत्व भने निर्वाचन गर्न नदिने पक्षमा देखिन्छ । युवा संघका नेताहरूको छलफलमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले सर्वसम्मतबाट नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।

अहिलेका उपाध्यक्ष महाराज गुरुङ पनि अध्यक्षका बलिया दाबेदार हुन् । उनी पूर्वमन्त्री पार्वत गुरुङका भाञ्जा हुन् । गुरुङले पनि अध्यक्षका लागि तयारी गरिरहेका छन् । क्षितिज थेबेको विकल्पमा नेतृत्वले उनलाई अघि सार्ने कतिपयको अनुमान छ ।

लामो समय संगठनमा काम गरेको र युवा आन्दोलनलाई बुझेको हिसाबले आफूले नेतृत्वमा दाबेदारी दिएको गुरुङले बताए । ‘युवा आन्दोलनलाई सही ठाउँमा पुराउनका निम्ति, युवा संघलाई जुझारु बनाउनका निम्ति, क्रान्तिकारी, स्वच्छ बनाउनका निम्ति म नै योग्य मान्छे हो भन्ने मेरो बुझाई छ,’ उनले भने ।

उपाध्यक्षद्वय प्रकाश गौतम र कृष्णहरि केसीले पनि अध्यक्षका लागि दाबी पेस गरिरहेका छन् । केसी अहिले प्रवक्ता छन् । उनले आफू उपाध्यक्षहरुमध्ये पनि वरिष्ठ भएकाले स्वभाविक दाबी रहेको बताइरहेका छन् ।

महाधिवेशनबाट एक महिलासहित दुई उपाध्यक्ष छानिनेछन् । खुला उपाध्यक्षमा हालका कोषाध्यक्ष राकेश राई, स्थायी कमिटी सदस्य ध्रुव खड्का, मोबिन आलम, राजन थापा बलराम बेलबासेको चर्चा छ । यस्तै महिला उपाध्यक्षमा शारदा पछाईं, निशा लिम्बु, रेसु तामाङ, अनुपमा राईसहितको चर्चा छ ।

महासचिवमा भने हालका उप महासचिव र अधिकांश सचिवको आंकाक्षा छ । उपसचिव राजन थापा, सचिव निरोज पौडेल,,खेम शर्मा, पर्वत भण्डारी, विनय शाह, कुबेर अधिकारी र महेश चौलागाईंमध्येबाट महासचिव बन्ने सम्भावना देखिन्छ ।

अध्यक्षमा दाबी गरिरहेका मध्येबाट पनि उपाध्यक्ष र महासचिव बन्ने डर अहिलेका आंकाक्षीलाई छ । आंकाक्षीहरुले आफुनिकटका नेतालाई लविङ गरिरहेका छन् । तर, अध्यक्ष ओलीले भने अहिलेसम्म ठोस निर्णय दिएका छैनन् ।

एमालेको नीतिअनुसार युवा संघको पदाधिकारी १७ बाट ९ मा झर्नेछ । यस्तै ४० वर्षको दहम्याद पनि हुनेछ । महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । उमेरका कारण धेरै नेताहरू यसपटक नै मौका पाउनेपर्ने अडानमा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पार्टी अध्यक्षको निर्देशन कुर्दै, #पोखरामा युवा संघको १०औँ महाधिवेशन: लबिङमा जुट्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545