Techie IT
मंगलबार, वैशाख २३,२०८२

सडकमा गाडी गायव भएकोबारे अनुसन्धान गर्न अघि सर्‍यो भूगर्भ विभाग


हेटौंडा । मकवानपुरको हेटौंडा चुच्चे खोलानजिक गुड्दा गुड्दै बेपत्ता भएको बोलेरो ३ दिन बित्दासम्म भेटिएको छैन । त्यहाँको जमिनबारे भूगर्भ विभागको टीमले अनुसन्धान थालेको छ ।

शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका- १६ र १७ को सीमानजिकै गैरी गाउँमा ना ४ च ४८३३ नम्बरको बोलेरो सडकमा भासिएको थियो । गाडी बेपत्ता भएको ठाउँमा जेसीबी लगाएर खोज्दासमेत फेला नपरेपछि हेटौंडा उपमहानगरपालिकाको समन्वयमा विभागमा भूगर्भविद्को टोली अध्ययनका लागि आएको हो ।

भूगर्भविद् नारायण अधिकारीका अनुसार पहिलो चरणमा उक्त क्षेत्रको जमिनको अवस्था र त्यसपछि म्याग्नेटोमिटर टीओआईबाट यस क्षेत्रको चुम्बकीय अवस्थाबारे अध्ययन हुनेछ ।

 

 

सोक्रममा यस क्षेत्रको सतहमुनि माटोको तह, भूमिगत जलबारे र म्याग्नेटोमिटरबाट फलामजन्य चुम्बकीय पदार्थको अध्ययन गरिने उनले सुनाए । यसबाहेक वरिपरिको भूगोल, सतहको पानीको बारेमा पनि अध्ययन गरिनेछ ।

अध्ययनको निचोडलाई इन्भारमेन्टल एन्ड इन्जिनियरिङ जियोलेजिकल म्याप अफ हेटौंडा एरियाको विश्लेषण र फिल्डको निरीक्षणलाई आधार मानी प्रतिवेदन तयार गरिने छ ।

त्यो ठाउँ दलदल भएकोले बीचमा पुगेर अनुसन्धान गर्न कठिन भएको उनले सुनाए ।

‘पोखरी बनेको क्षेत्र छेउमा बसेर नै अनुसन्धान गर्नुपर्ने बाध्यता छ’, अधिकारीले भने ।

गुडिरहेको गाडी नै गायब भएको क्षेत्र दुई-तीन दशकअघिसम्म धाप रहेको र केही गोरुहरू पनि जोत्ने क्रममा त्यहाँ बेपत्ता स्थानीयले बताउँदै आएका छन् । ७० को दशकपछि पानी सुक्दै गएको र माटो सुख्खा हुन थालेपछिमात्र सडक निर्माण भएर आवतजावत भएको उनीहरूको भनाई छ ।

वरिपरि दर्जन बढी माछा पोखरी रहेको साथै पोखरीका लागि बोरिङ गरिएको कारण पनि सडवक भासिएको अनुमान छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सडकमा गाडी गायव भएकोबारे अनुसन्धान गर्न अघि सर्‍यो भूगर्भ विभाग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545