Techie IT
आईतबार, असार ८,२०८२

म्याग्दीमा ४० जलविद्युत् आयोजनाबाट हजार मेगावाट विद्युत् उत्पादन हुँदै


म्याग्दी, वैशाख २ गते । हिमाली जिल्ला म्याग्दीमा सञ्चालनको प्रक्रियामा रहेका र सञ्चालनमा आइसकेका जलविद्युत् आयोजनाहरुबाट एक हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ ।

म्याग्दीमा सर्भे अनुमति लिएका, निर्माण अनुमति लिएका र सञ्चालनमा आएका गर्दा एक हजार १६ मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने विद्युत विकास विभागका सूचना अधिकारी बद्री कुइँकेलको भनाइ छ । हाल म्याग्दीमा छ वटा जलविद्युत् आयोजनाहरुबाट एक सय ७१ मेगावाट विद्युत् उत्पादन भइरहेको विद्युत विकास विभागको तथ्याङ्कले देखाएको छ ।

तातोपानी सानो जलविद्युत् आयोजनाले उत्पादन गर्ने २ मेगावाट विद्युत् घलेम्दी हाइड्रोले उत्पादन थालेपछि बन्द गर्ने सहमति अनुरुप सञ्चालनमा नभएको भए पनि हालको क्षमता अनुसार उत्पादन हेर्दा पनि १६९ मेगावाट विद्युत् उत्पादन भएको देखाउँछ । पाँच मेगावाटको घलेम्दी हाइड्रो, १४ मेगावाटको घारखोला जलविद्युत, निलगिरी खोला जलविद्युतको ३८ र निलगिरीकै क्यासकेड ७१ र मिस्त्री खोला जलविद्युतको ४२ मेगावाट विद्युत् अहिले उत्पादन भइरहेको छ ।

त्यस्तै, पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको मुदीमा ८ मेगावाटको माथिल्लो तिरिजाखोला, अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा ३२ मेगावाटको नीलगिरी खोला र रघुगंगा गाउँपालिकाको कुइनेमंगलेमा पाँच मेगावाटको स्यानो र पन्थोखोला जनविद्युत परियोजनाको सर्वेका लागि विभिन्न निर्माण कम्पनिहरुले विद्युत विकास विभागमा निवेदन दिएका छन् । त्यस्तै ९ दशमलव ८३ मेगावाटको सुपर ठुलोखोला हाइड्रो प्रोजेक्ट, पाँच मेगावाटको मंगला म्याग्दी क्यासकेटलाई सर्बेका लागि विद्युत विकास विभागले अनुमति दिएको छ ।

सर्भे सकिएर १२ दशमलव ७३ मेगावाट अपर मुदी हाइड्रो, ३० मेगावाट म्याग्दी खोला ए, १२ दशमलव ५ मेगावाट म्याग्दी खोला बि, एक दशमलाव ८६ मेगावाट तल्लो रुप्से र ९ दशमलव ७१ मेगावाट मुदीको तिरिजा खोला जलविद्युतले निर्माणका लागि निवेदन दिएका छन् । जिल्ला भित्र विभिन्न २४ वटा जलविद्युत आयोजनाहरु भने निर्माणको क्रममा छन् । उनीहरु सबैजसोले कन्स्ट्रक्सनको काम थालेको विद्युत विकास विभागले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युतलगायतका कम्पनिहरुले आफ्नो काम रफ्तारमा गरी रहेका छन् । अपर म्याग्दी खोला, रुप्से खोला, दरवाङ म्याग्दी खोला, राहुघाट मंगले, रेले खोला, कालिगण्डकी गर्ज लगायतका विद्युत् आयोजनाले आफनो भौतिक काम थाल्नका लागि अनुमति लिइसकेका छन् ।

विद्युत विकास विभागको तथ्याङ्क अनुसार सात सय १८ मेगावाट विद्युत निर्माणको क्रममा छ । यसैगरी ६६ दशमलबव ८ मेगावाट विद्युतको कन्स्ट्रक्सनका लागि  निवेदन दिएका छन् भने १५ मेगावाट विद्युतको सर्वेको लाइसन्स लिएर बसेका छन् । म्याग्दी जिल्ला भित्र ४५ मेगावाट विद्युत उत्पादनका लागि निर्माण कम्पनिले सर्वेको लाइसन्सका लागि निवेदन दिएका छन् ।

संविधानसभा सदस्य नवराज पौडेलले म्याग्दी विद्युत् उत्पादनका लागि निकै सम्भावना भएको जिल्ला भएकाले यसलाइ निर्माणमा कुनै पनि प्रकारको अवरोध नहुने गरी काम भएको खण्डमा एक दशकभित्रै हजार मेगावाट विद्युत उत्पादन म्याग्दीका लागि अनौठो नहुने बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #म्याग्दीमा ४० जलविद्युत् आयोजनाबाट हजार मेगावाट विद्युत् उत्पादन हुँदै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:07 am7:03 pm +0545