Techie IT
शुक्रबार, जेठ ३,२०८२

चितवनमा रविसहित ३१ जना र ७ कम्पनीलाई मुद्दा चलाउन रायसहित प्रहरीले बुझायो प्रतिवेदन


चितवन । साहरा सहकारी चितवनको रकम हिनामिनाको आरोप लागेका सात कम्पनी, रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ३१ जना विरुद्ध परेको पुरक जाहेरीको अनुसन्धान प्रतिवेदन तयार गरेर जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन गरेको पुरक जाहेरी र सरकारी वकिलको कार्यालय चितवनले थप बुझ्नु भनेको विषयमा प्रहरीले अनुसन्धान गरेको प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा दर्ता गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले १९६ पेज लामो अनुसन्धान प्रतिवेदनमा गोर्खा मिडिया प्रालिसहित रकम अपचलन गर्ने ६ वटा संस्था र रवि लामिछानेसहित ३१ जना र साहारा सहकारीलाई प्रतिवादी बनाइएको डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

चितवनको साहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हर्ब्स इन्टरनेसनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, स्प्रिङ उड रियल स्टेट, नेचर नेस्ट प्रालि लगायतमा रकम गएको देखिएपछि उक्त रकमबारे पुरक अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय चितवनले चितवन प्रहरीलाई निर्देशन दिएको थियो ।

गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रूपैयाँ गएको प्रहरी अनुसन्धानमा देखिएको छ । यस मुद्दाको मूल जाहेरीमा लामिछानेको नाम परेको थिएन । तर, रकम गएको विवरण खोज्दा लामिछाने तानिएपछि पीडितहरूले पुरक निवेदनमा नाम किटान गरेर जाहेरी दिएका थिए ।

जसमा रवि लामिछाने र छविलाल जोशी गोर्खा मिडियाका सञ्चालक हुन् । अन्य जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनी, तिनका सञ्चालक तथा सेयरधनी हुन् । कम्पनीका फरक फरक दायित्व भएका व्यक्तिलाई फरक फरक बिगो रकम माग गरेको प्रतिवेदन सरकारी वकिल कार्यालयमा दर्ता गरिएको डीएसपी महतोले जानकारी दिए ।

साहारा चितवन सहकारीबाट नेचर हर्ब्स इन्टरनेसनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जिबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रूपैयाँ गएको भन्दै गत मंसिर ५ गते पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए ।

मूल मुद्दा भने गएको असोज ८ गते जिल्ला अदालत चितवनमा दायर भइसकेको छ । सो मुद्दामा सरकारी वकिलको कार्यालय चितवनले जीबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तर, प्रहरीले गरेको अनुसन्धानमा रकम हिनामिना गर्ने संस्थाबारे थप अनुसन्धान गर्नुपर्ने भएपछि सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेकै दिन साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा मिडियामा लगायतका संस्थामा रकमबारे थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

साहारा सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय ३४ छन् । कुल बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रूपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रहरीले प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता २०७४ दफा २४९ को उपदफा १ र २ विपरीत कसुरमा दफा २४९ को उपदफा ३ ९ग० बमोजिम सजाय माग दाबी गरेको एसपी गौतमले जानकारी दिए । साथै संगठित अपराध निवारण ऐन २०७० को दफा ३९१० ९२० ३ ९क० र ५ बमोजिम दफा ९ ९क० र ९ग० बमोजिम सजाय माग गरिएको छ ।

प्रहरीले आज सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाए पनि अध्ययन गरेर मुद्दा दर्ता प्रक्रियामा जान कम्तीमा एक साता लाग्ने बताए । उनले प्रतिवेदन अध्ययनपछि प्रहरीलाई थप अनुसन्धानमा निर्देशन दिनुपर्ने पनि हुनसक्ने भएकोले मुद्दा दर्ता कहिले हुन्छ भनेर यकिन गर्न नसकिने जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चितवनमा रविसहित ३१ जना र ७ कम्पनीलाई मुद्दा चलाउन रायसहित प्रहरीले बुझायो प्रतिवेदन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:12 am6:47 pm +0545