Techie IT
शुक्रबार, भदौ २६,२०८३

निर्माणको चरणमा रामजानकी फनपार्क


बर्दीबास, माघ १ गते । मधेश प्रदेशकै गौरवको आयोजना मानिएको बर्दीबासस्थित रामजानकी फनपार्क निर्माणको चरणमा प्रवेश गरेको छ । नगरपालिकाले वडा नं १४ स्थित रातु नदीको तटवर्ती क्षेत्रमा रामजानकी फनपार्क निर्माणका लागि जग्गा व्यवस्थापन प्रकृया सुरु गरेको जनाएको छ ।

नगरप्रमुख प्रहलाद क्षेत्रीले बर्दीबासको पहिचान, पर्यटन र संस्थागत विकाशमा टेवा पु¥याउने उद्देश्यले रामजानकी फन पार्क निर्माणको योजना अघि सारेको बताउनुभयो ।

रातु किनाराको ४० बिघा क्षेत्रफलमा निर्माण हुने रामजानकी फन पार्ककोे पारम्भिक लागत ४२ करोड रुपियाँ अनुमान गरिएको छ ।

यसका लागि नगरपालिकाले जग्गा व्यवस्थापनको औपचारिक प्रकृया सुरु गरि सकेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारीका अनुसार फनपार्क निर्माणका लागि आवश्यक ३९ बिघा जग्गामध्ये ३६ बिघा ऐलानी र सवा ३ बिघा जति नम्बरी जग्गा छन् । नम्बरी जग्गा अधिग्रहणका लागि नगरपालिकाले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरी प्रकृया अघि बढाइसकेको उहाँले जानकारी दिनुभयो ।

ऐलानी जग्गा उपयोगका लागि पनि बर्दीबास मालपोत कार्यालयमार्फत प्रकृया सुरु भइ सकेको छ । मालपोतबाट जिल्ला प्रशासन र अभिलेख विभाग हुँदै मन्त्री परिषदको निर्णयले यसको टुङ्गो लाग्छ । त्यसपछि मालपोत र नगरपालिकाबिच जग्गा अधिग्रहणका लागि सम्झौता हुने कानुनी प्रावधान छ ।

उहाँले भन्नुभयो, ‘‘जग्गा अधिग्रहणका लागि बर्दीबास मालपोतमार्फत प्रकृया अघि बढी सकेकाले सम्भवत् केही समयपछि नै हामी संरचना निर्माण सुरु गर्ने छौं ।’’

आफैँमा महत्त्वाकाङ्क्षी योजना मानिएको यो पार्कको डिपिआर पनि तयार भइसकेको छ ।

ग्रिन टेक कन्सलटेन्ट प्रालिले तयार पारेको डिजाइन अनुसार पार्कमा जनकपुरको प्रसिद्ध जानकी मन्दिरलाई प्रतिकात्मक रुपमा डिजाइन गरिएको छ । यसैको महत्त्व दर्शाउन पार्कको नाम नै ‘रामजानकी’ राखिएको हो ।

यसकासाथै जलक्रिडाका लागि वाटर फन पार्क, वन वाटिका ९वोटानिकल पार्क०, बाल मनोरञ्जन, सांस्कृतिक सङ्ग्राहलय, रेस्टुरेन्टलगायत मनोरञ्जनका विविध आयाम समायोजन गरिएको डिपिआरमा उल्लेख छ ।

सार्वजनिक चासो र चर्चाको विषय बनेको रामजानकी फन पार्कलाई एकैपटक ५० हजार आगन्तुकले अवलोकन गर्न सकिने कन्सलटेन्टका इन्जिनियर आश्रम श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार फन पार्कको संरचना ५ वर्षभित्र निर्माण सम्पन्न हुने गरी डिजाइन गरिएको छ । पार्कमा विविध मनोरञ्जन, आधुनिक सुविधा र स्वेर परिकल्पनासाथ संरचना डिजाइन गरिएको श्रेष्ठको भनाइ छ ।

यो परियोजनालाई नगर कार्यसमितिको बैठकले पनि सर्वसम्मत अनुमोदन गरेकाले कार्यान्वयनको चरणमा प्रवेश गरेको जनाइएको छ ।

नगरप्रमुख प्रहलाद क्षेत्रीले मनोरञ्जन मानवको मौलिक हक भएकाले यसलाई मूर्तरुप दिन रामजानकी फन पार्कको परिकल्पना गरिएको बताउनुभयो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निर्माणको चरणमा रामजानकी फनपार्क


तपाईको कमेन्ट लेख्नुहोस्