बचत तथा ऋणको सीमाले आत्तिए सहकारीकर्मी, महासंघदेखि विभागसम्म हारगुहार
काठमाडौँ, पुस १८ गते । सरकारले अध्यादेश मार्फत सहकारीमा व्यक्तिगत बचत तथा ऋणको सीमा तोकेपछि सहकारीकर्मीहरू आत्तिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेसँगै उनीहरूले बचत तथा ऋणको सीमाबारे आपत्ति जनाएका हुन् ।
उक्त अध्यादेशको दफा ५२ मा व्यक्तिगत बचत तथा ऋणको सीमा तोकिएको छ । उक्त दफाको (क), (ख) र (ग) मा भनिएको छ, ‘एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा पचास लाख रूपैयाँसम्म, एक जिल्लाभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा पच्चिस लाख रूपैयाँसम्म र बढीमा एक जिल्लाभित्र कार्यक्षेत्र रहेको बचत ता ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा दश लाख रूपैयाँसम्म ।’

तर, यो दफा प्रारम्भ हुँदाको बखत कायम रहेको व्यक्तिगत बचतलाई यो दफा प्रारम्भ भएको मितिले दुई वर्षभित्र यस दफा बमोजिमको सीमाभित्र ल्याउनु पर्ने समेत अध्यादेशमा उल्लेख गरिएको छ ।
अध्यादेशले ऋणको सीमा समेत तोकेको छ । सहकारी संस्थाको प्राथमिक पुँजी कोषको पन्ध्र प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न नमिल्ने अध्यादेशमा उल्लेख छ ।
यो व्यवस्थाबारे राष्ट्रिय सहकारी महासंघले आपत्ति जनाएको छ । महासंघले विज्ञप्ति जारी गर्दै बचत तथा ऋणको सीमाले सहकारी क्षेत्रलाई सङ्कुचित एवं क्षयीकरण गर्ने भएकोले उक्त बुँदाहरू संशोधन गर्न माग राखेको छ ।
बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा कार्यक्षेत्रका आधारमा व्यक्तिगत बचतको सीमा निर्धारण गर्दा संस्थाको सेवा दायरा र सदस्यहरूको वित्तीय पहुँचलाई प्रतिकूल असर गर्ने महासंघले जनाएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाका सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी निर्वाचित वा बहाल रहन नसक्ने व्यवस्थाले संस्थाको गतिशीलतामा अवरोध सिर्जना गर्ने महासंघको तर्क छ ।

बागमती प्रदेश सहकारी संघले पनि अध्यादेशका केही बुँदाहरू आपत्तिजनक रहेको जनाएको छ । बचत तथा ऋणको सीमा, संस्थाको वर्गीकरण, सञ्चालक पदको कार्यविधिलगायत विषयमा विरोध जनाएको हो । अध्यादेशमा भएका यी विषयहरूले सहकारी क्षेत्रलाई थप कमजोर बनाउने भन्दै संघले आपत्ति जनाएको हो ।

अध्यादेशमा भएको व्यवस्था संशोधन गर्न जिल्ला सहकारी संघ काठमाडौंले विभिन्न निकाय गुहारेको छ । संघले सहकारी विभागदेखि राष्ट्रिय सहकारी महासंघ र बागमती प्रदेश सहकारी संघलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
कार्यक्षेत्र अनुसार बचतको सीमा तोकिनु, सदस्यले प्राप्त गर्ने लाभांश दरमा संकुचन ल्याउनु, सञ्चालकहरूको कार्यकालको समयावधि तोकिनु जस्ता व्यवस्थाले सहकारीमा गम्भीर नकारात्मक प्रभाव पार्ने संघको तर्क छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बचत तथा ऋणको सीमाले आत्तिए सहकारीकर्मी, #महासंघदेखि विभागसम्म हारगुहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्