Techie IT
मंगलबार, कात्तिक २५,२०८३

ग्राण्डी टावरदेखि बुढानिलकण्ठ क्षेत्रमा पर्ने विष्णुमती करिडोरको नापजाँच कार्य सुरु


१७ पुस, काठमाडौं । टोखा नगरपालिकाले दोस्रो चरणको विष्णुमती करिडोर निर्माण अन्तर्गत आजबाट ग्राण्डी टावरदेखि बुढानिलकण्ठ क्षेत्रमा पर्ने विष्णुमती करिडोर क्षेत्रमा रहेका सरकारी जग्गाहरुको संरक्षण अभियानका लागि रेखाङ्कन कार्य सुरु भएको छ ।

आज बिहान टोखा नगरपालिकाको नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतसहित वडाका जनप्रतिनिधिहरु, स्थानीयबासी, नेपाल प्रहरि, नगर प्रहरि र नापी कार्यालय टोखाको रोहवरमा नापजाँच कार्य सुरु भएको टोखा नगर पालिकाको प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसिले जानकारी दिएका छन् ।

बिसीकाअनुसार पहिलो चरणमा टोखा नगरपालिकाले नयाँबसपार्कदेखि ग्राण्डी टावरसम्मको करिडोर क्षेत्रको जग्गा संरक्षण गर्दै सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको छ । केही ठाउँमा कालोपत्रे समेत गरिसकेको छ । त्यस्तै टोखा ११ को मनमैजु पुलदेखि मनोहर तिर्थ धामसम्म १० फिटे फुटपाथ निर्माण सुरु गरेको छ ।

 

टोखा नगरपालिकाले मेरुदण्डको रुपमा विष्णुमती करिडोर सडक निर्माण कार्यलाई प्राथमिकता दिएको छ । विष्णुमती करिडोरमा नयाँबसपार्कदेखि बुढानिलकण्ठसम्म दुईलाइन सडकको ट्रयाक खोलिसकेपछि साङ्ले खोला करिडोर क्षेत्रमा व्यक्तिले हडपेका जग्गाहरु संरक्षण गर्ने उद्देश्य नगरपालिकाले लिएको छ ।

आज भएको जग्गा नापजाँच कार्य टोखा वडा नं. ६ मा पर्ने विष्णुमती करिडोरमा पर्दछ । टोखा–६ मा सुभ होम्सले विष्णुमती करिडोर क्षेत्रमा कम्पाउण्ड वाल लगाएको छ । सो क्षेत्रको वालहरु सहमतीमै हटाएर करिडोर सडक निर्माण गरिने वडा नं. ६ का वडाअध्यक्ष शान्ता खनालले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ग्राण्डी टावरदेखि बुढानिलकण्ठ क्षेत्रमा पर्ने विष्णुमती करिडोरको नापजाँच कार्य सुरु


तपाईको कमेन्ट लेख्नुहोस्