Techie IT
मंगलबार, कात्तिक २५,२०८३

केडिया ग्रुपले सार्वजनिक गर्यो नेपाल भलिबल लिगको लोगो र स्लोगान


काठमाडौं । केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगन सार्वजनिक गरेको छ ।

 

मङ्गलबार एक कार्यक्रममार्फत् खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा भलिबल लिगको लोगो र स्लोगन सार्वजनिक गरिएको हो ।

कार्यक्रममा मन्त्री चौधरीले एनभीएलको लोगो अनावरण गरेका थिए भने मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा ‘उचाईको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे ।

 

केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप उचाईमा पुर्याउने लक्ष्यका साथ उचाईको उडान स्लोगान राखिएको बताए । नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ को मार्च महिनामा सुरु हुनेछ ।

लिगमा देशभरका विभिन्न क्षेत्रबाट उत्कृष्ट खेलाडीहरुका साथै विभिन्न अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागिता रहनेछ । यो प्रतियोगिताले नेपालभरका उत्कृष्ट भलिबल खेलाडीहरूको सहभागिता सुनिश्चित गर्नेछ र खेलाडीहरूको लागि नयाँ अवसरको सृजना गर्नुका साथै नेपाली भलिबलको स्तरलाई थप नयाँ उच्चाइमा पुऱ्याउने लक्ष्य रहेको केडिया ग्रुपले जनाएको छ ।

एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानले पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउण्ड रोविनका आधारमा खेल हुने जानकारी दिए ।

उनका अनुसार ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुनेछ र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । यस्तै हरेक टोलीमा ९ नेपाली र ३ विदेशी खेलाडी गरि कुल १२ खेलाडि रहने बताइएको छ ।

पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच गत जेठमा ७ वर्षको लागि सम्झौता भइसकेको छ । सम्झौता अनुसार केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँ प्रदान गर्नेछ ।

नेपाल भलिबल लिगको माध्यमबाट नेपालको राष्ट्रिय खेल भलिबललाई नयाँ उचाईमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा लैजाने सोच बनाएको अध्यक्ष विमल केडियाले बताए ।

कार्यक्रममा श्रीलंकामा भएको काभा पुरूष भलिबल प्रतियोगितामा रजत पदक जित्न सफल भएको यु–२० नेपाली राष्ट्रिय टोलीको सदस्यलाइ नगदसहित सम्मान गरिएको थियो ।

१२५ वर्ष लामो विरासत बोकेको केडिया ग्रुपले आर्थिक, शैक्षिक, सामाजिक, आध्यात्मिक, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रहरूमा योगदान पुर्याउँदै आएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केडिया ग्रुपले सार्वजनिक गर्यो नेपाल भलिबल लिगको लोगो र स्लोगान


तपाईको कमेन्ट लेख्नुहोस्