भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
काठमाडौँ, पुस १० गते। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन्। विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर क्रिसमस डे मनाइएको हो।
उपत्यकाका भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटिसी मल, सिटी सेन्टर, काठमाडौँ मल, लविङ मल, आइप्लेक्स मल, पिपुल्स प्लाजा, विशालबजारलगायत क्षेत्रमा क्रिसमसको साजसज्जासहितका ‘क्रिसमस ट्री’ आकर्षण बनेको थियो। बालबालिकादेखि युवायुवती तस्बिर खिचाउन र सेल्फी लिन व्यस्त देखिन्थे।
बालबालिकालाई अभिभावकले सपिङ् मल तथा फनपार्क, चिल्ड्रेन पार्कलगायत स्थानमा लैजाँदा भीड बढेको थियो। ठाउँ–ठाउँमा साङ्गीतिक कार्यक्रम र जमघट भएको थियो।
पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्गलगायत गन्तव्यमा भीडभाड रह्यो। काठमाडौँ नजिकका नगरकोट, धुलिखेल, चन्द्रागिरि, लाकुरीझञ्ज्याङ आदी गन्तव्यमा पर्यटकको बाक्लो चहलपहल रहेको होटल सङ्घ नेपाल ९हान०ले जनाएको छ। क्रिसमस इभमा ठमेलका होटलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल रहेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले बताउनुभयो।
परिषद्को आयोजनामा कर्मचारी सञ्चयक कोष परिसरमा ‘फुड फेष्टिभल’ र सडक महोत्सव आयोजना गरिएको थियो। पर्यटकीय गन्तव्य र मुख्य चहलपहल हुने स्थानका रेष्टुरेन्टमा ग्राहकको ओइरो लागेको रेष्टुरेन्ट एन्ड बार एशोसिएशन अफ नेपाल (रेबान) ले जनाएको छ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको विश्वास गरिने नेपाल ख्रिष्टियन महासङ्घले जनाएको छ।
मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन्। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महोत्सवका रुपमा मनाउन थालिएको हो।
हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ। १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले जनाएको छ। महासङ्घ मूल समारोह समितिको आयोजनामा बुधबार काठमाडौँमा क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्