रामकोटमा ४० करोड लगानीमा बद्रीनारायणधाम निर्माण
काठमाडौं, पुस ७ गते । नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि रु ४० करोड लगानीमा ‘बद्रीनारायण धाम’ निर्माण गरिएको छ । पण्डित स्व नारायण पोखरेलको स्मृतिमा स्थापित नारायण पोखरेल प्रतिष्ठानले उक्त धाम निर्माण गरेको हो ।
धाम आगामी वैशाख १९ गतेदेखि २७ गतेसम्म मूर्तिको प्राणप्रतिष्ठा गरी नित्य पूजाको व्यवस्थापन तथा उद्घाटन गरिने र यसका लागि निर्माण व्यवसायी जयराम लामिछानेको संयोजकत्वमा तीन हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले जानकारी दिनुभयो ।
रामकोटमा २२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त धाममा रु सात करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण सम्पन्न भइसकेको छ भने आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई वासस्थानको व्यवस्थालगायतका संरचना निर्माण भइरहेको छ ।
केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा लागत जुटाउने काम भइरहेको अध्यक्ष पोखरेलले बताउनुभयो । धाम निर्माणका सरकारले जग्गा उपलब्ध गराएको थियो । चार धाममध्ये विशेष एक धाम रामकोटमा छ भन्ने सन्देश दिनका लागि बद्रीनारायणधाम निर्माण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
स्व पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय हुनुहुन्थ्यो । उहाँले भौतिक विकास नभएसम्म समुन्नत मुलुक निर्माण हुन सक्दैन भन्ने मान्यता राख्दै आउनुभएको थियो । विसं २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मनुभएका पोखरेलको २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उहाँ नेपालको पहिलो धार्मिक सहिदसमेत हुनुहुन्छ । स्व पोखरेललाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो ।
स्व पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार एक सय ३६ पुराण वाचन गर्नुभएको थियो । पोखरेलको निधन भएसँगै २०६४ असोज २३ मा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले उहाँको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्ने काम गर्दै आएको छ ।
प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष दिनबन्धु पोखरेलले स्व नारायण पोखरेललाई जीवन्त राख्नका लागि बृहद् बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको बताउनुभयो । “नेपालमै ठूलो आध्यात्मिक थलो निर्माण गर्ने प्रतिष्ठानको मुख्य उद्देश्य हो, उक्त उद्देश्य पूरा हुँदै गएको छ”, उहाँले भन्नुभयो ।
उक्त धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रामकोटमा ४० करोड लगानीमा बद्रीनारायणधाम निर्माण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्