विद्युत् महसुल विवाद : सर्वोच्चले दुवै पक्षलाई बोलायो
काठमाडौँ, कात्तिक २९ गते । ट्रङ्क तथा डेडिकेटेड लाइन महसुल विवादबारे मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन रोक लगाउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अन्तरिम आदेशलाई अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो । बक्यौता विवादका कारण लाइन काटिएको उद्योगमा विद्युत् जडान गर्ने र १५ दिनभित्र महसुल असुल गर्ने मन्त्रीपरिषद्को निर्णयविरद्ध रिट दायर भएको थियो ।
रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पाण्डेयको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । इजलासले मङ्सिर ३ गते दुवै पक्षलाई छलफलमा बोलाएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताउनुभयो । द्विपक्षीय सुनुवाइपछि मात्र मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन हुने वा नहुने टुङ्गो लाग्ने छ ।
निवेदक अधिवक्ता खडानन्द कँडेलले सरकारको निर्णय विभेदकारी भएको जिकिर गर्नुभको छ । साथै निर्णयले स्वायत्त संस्था अधिकार सङ्कुचित गरेको पनि उहाँले जिकिर गर्नुभएको छ । संवैधानिक र कानुनी दृष्टिकोणबाट समेत सरकारको निर्णय उपयुक्त नरहेको निवेदकको दाबी छ ।
दुई पक्षबिचको छलफलपछि अन्तरिम आदेश जारी भएमा सरकारको निर्णय कार्यान्वयनमा रोक लाग्ने छ । अन्तरिम आदेश अस्वीकार भएमा निर्णय अनुसारको प्रक्रिया अगाडि बढाउन कानुनी बाधा पर्ने छैन ।
यस्तै न्यायाधीश पाण्डेयकै इजलासले सङ्घीय संसद्का सदस्यका स्वकीय सचिवको योग्यतासम्बन्धी विवादमा पनि दुवै पक्षलाई छलफलमा झिकाउने आदेश गरेको छ । अधिवक्ता माधवराज शर्मा पोखरेलको रिटमा सुनुवाइ गर्दै इजलासले मङ्सिर ३ गते नै दुई पक्षलाई छलफलमा बोलाएको हो । अदालतले विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ ।
सांसदका स्वकीय सचिवमा नियुक्ति हुने व्यक्ति पद अनुसारको आवश्यक शैक्षिक योग्यता नपुगेको भन्दै अदालतमा रिट दर्ता भएको हो । शाखा अधिकृतसरहको सेवा सुविधा भए पनि अहिले कक्षा ८ सम्मका व्यक्तिले पनि नियुक्ति पाइरहेका छन् ।
रिटमा नियुक्ति भइसकेको र योग्यता नपुगेकोका हकमा नियुक्ति बदरको माग गरिएको छ । सङ्घीय संसद् सचिवालयसहितका निकायलाई रिटमा विपक्षी बनाइएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्