Techie IT
बुधबार, कात्तिक २६,२०८३

जसको जीवनी पाठ्यपुस्तकमा पाइन्न


भनिन्छ इतिहास विजेताहरुले लेखाउँछन् । हार्नेहरुको योगदानको चर्चा इतिहासमा बिरलै पाइन्छ । सायद पाठ्यपुस्तकमा जीवनी पनि त्यस्तैहरुको लेखिँदो हो । पाठ्यपुस्तकमा जीवनी लेखिनुको पनि एउटा मापदण्ड हुँदो हो । तर कहिलेकाहिँ इतिहासले नायकत्व स्वीकार नगरेका बिसे नगर्चीहरु किम्बदन्ती वा मिथकीय पात्रकै रुपमा आएर पनि झकझक्याएर जान्छन् । पाठ्यपुस्तकमा जीवनी पढ्न नपाइने साधारण मान्छे पनि तिनका योगदानले असाधारण लाग्छन् ।

अहिले म त्यस्तै हेर्दाका साधारण बुझ्दाका असाधारण खासगरी पाठ्यपुस्तकमा जीवनी नलेखिने एक मान्छेको जीवनी लेख्दै छु ।

सोलुखुम्बुको लेचा गाउँमा २०१० साल फागुन ३ गते जन्मेर नजिकैको सगरमाथाबाट बहँदै आउने चिसो सिरेटोको आत्मीयता प्राप्त गरी हुर्केका मान्छे हुन् जीवनीका नायक अर्थात कृष्णप्रसाद देवकोटा ।
बर्दिबास क्षे्रमा देवकोटा चिनिएकै नाम हो । खासगरी समाजसेवाका क्षेत्रमा यो बिर्सन सकिने नाम होइन ।

झट्ट हेर्दा र सुन्दा मान्छेको नामले एउटा मानवीय शरीरधारी अस्थिपन्जरले आकृति दिएको रगतमासुले बनेको, छालाको प्राकृतिक वस्त्रले बेरिएको छुट्टै अनुहार भएको एक थान मान्छेलाई परिचय दिने परिचायक जस्तो लाग्छ। मान्छे शरीर मात्र होइन विचार हो।सोच हो । मान्छे चेतना हो । हेर्दै र बुझ्दै जाँदा मान्छे सबै थोक हो ।

आफ्नो ब्यक्तिगत स्वार्थलाई खासै वास्ता नराखी जब मान्छे आफू र आफ्नो परिवारभन्दा माथि उठ्छ तब न ऊ खास मान्छे कहलिन्छ । आफूमा मात्र केन्द्रित त चारखुट्टे पशु छँदै छन् नि । खान पिउँन , मैथुनिक क्रियामा सहभागी भै सन्तान जन्माउँन त चारखुट्टे पशुले भलिभाँती जानेकै छन् नि । त्यसैले त मान्छेले पशुभन्दा माथिको दर्जा पाउँन अझ “मान्छे हुँ ” भन्न सीमित घेरालाई तोडेर माथि उठ्नै पर्छ ।

कृष्णप्रसाद देवकोटा सीमित स्वार्थ र पारिवारिक घेरालाई थोरै भए पनि तोडेर अलिकति माथि उठेकै देखिन्छन् । बालक कालमै मातापिता गुमाएका देवकोटालाई आफ्नै जेठादाजुले अभिभावकत्व दिएर हुर्काए बढाए। त्यो समयमा पनि सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारको स्कुलमा पढाएर २०२७ सालमा एस एल सी उत्तीर्ण गराए । एस एल सी पछि उनले करिब बार वर्ष कृषि विकास बैङ्कमा जागिर खाएको पाइयो । जागिरबाट मटक मरेपछि देवकोटाले ठेकेदारी गर्ने त कहिले ट्रक र ट्र्याक्टरको व्यवसाय गर्ने गरेको बुझियो । पारिवारिक दायित्व र आर्थिक पार्जनका लागि काम गर्दागर्दै थोरै समय उनी समाजसेवामा खर्चन्थे । उनले बर्दिबासका चोक चौरमा चौतारा चिन्ने काम गरे । यसबाट उनलाई सन्तुष्टि र आत्मसम्मान दुबै मिल्थ्यो । क्रमशः उनी सामाजिक सेवामा लहसिँदै गए ।

सोलुखुम्बुबाट देवकोटा परिवार झापा बसाइँ सर्यो । उनी झापा हुँदै सर्लाही र पछि २०३४ सालमा वैवाहिक सम्बन्ध गाँसेपछि सदाका लागि बर्दिबास आइपुगे । बर्दिबासमा विषालु सर्पको बिगबिगी छँदै थियो । सर्पको टोकाइबाट अकालमा मरिरहेकालाई देख्दा उनी छट्पटिन्थे । एउटा गतिलो उपचार गर्ने उपचार केन्द्रको आवश्यकता उनी त्यतिबेला देखि नै महसुस गर्थे।
सर्पको राजधानी नै भने पनि हुने बर्दिबासमा सर्पदङ्श उपचारकेन्द्रको स्थापनाका लागि उनी अनवरत लागि नै रहे। यता उता दौडाहामा । कहिले सेनाका ब्यारेकमा , कहिले स्वास्थ विभागमा उनी दौडिरहे। पछि गौरीडाँडामा सेनाको गुल्म बस्न थाल्यो । नेपाली सेनाले सर्पदङ्शको उपचारमा काम गर्दै आएको बुझेका देवकोटाले नेपाली सेनाको प्राविधिक सहयोगमा रेडियो नेपालको कम्पाउन्डभित्र सर्पदङ्शको उपचार केन्द्र स्थापनाको जग बसाले । यस कार्यमा उनका साथमा राजनीतिक दलका स्थानीय नेतृत्व , समाजसेवी , चन्दादाता सबै सबैले आआफ्ना ठाउँबाट यथेष्ट सहयोग गरेको देखिन्छ ।

जे होस् उनकै अध्यक्षतामा यी कामहरु हुँदै गए । रेडियो नेपाल, नेपाली सेना , स्थानीय समुदायको त्रिपक्षीय सहकार्यमा बर्दिबासको गौरीडाँडामा विगत एघार वर्षदेखि सर्पदङ्शको उपचार हुँदै आएको छ।अझै पनि पर्याप्त साधन र स्रोतको अभाव त छँदै छ । फेरि पनि यस केन्द्रले केको उपचार गर्दै आएको देखिन्छ।

आफ्नो घरको मानो खाएर , झन्डै दुई दशक बूढो सुपर स्प्लेन्डर बाइकमा आफ्नै गोजीको पैसाले पेट्रोल हालेर कृष्णप्रसाद देवकोटा दौडिरहन्छन समाजसेवामा । २०७० यता उनी अविच्छिन्नरुपमा सर्पदङ्श उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष छँदै छन् । औषधिमुलो चाहियो उनी र उनको टिम पुगेकै हुन्छ। रातदिन घामपानी , हिउँद बर्खा उनलाई केहीले रोक्दैन । निश्वार्थ सेवा मानवीय सेवा । उहीँ पुरानो बाइक , आफ्नै मानो , आफ्नै गोजीको पैसाको पेट्रोल। न कतैबाट कुनै स्वार्थ लुट्नु छ न दुई रुपियाँ कमाउनु छ !

देवकोटाको अगुवाइमा भएको अर्को महत्त्वपूर्ण काम हो। रातु मोक्षधामको निर्माण । बर्दिबास क्षेत्रमा एउटा गतिलो आर्यघाट निर्माणको नेतृत्व गरेर उनले ठूलो गुन लगाएका छन् । रातुपुलको नजिक रातु किनारामा मन्दिर र आवश्यक पूर्वाधार सहितको मोक्षधाम उनले थुप्रै मनकारी मान्छेहरुको सहयोगमा बनाएरै छोडे । उनी अझै त्यसलाई ब्यबस्थित पार्ने ध्याउन्नमा छन् ।

कुनै समय राजनीतिमा पनि होमिएका देवकोटा सम्पूर्ण राजनीतिक जिम्मेवारी र पद त्यागेर विशुद्ध सेवामा समर्पित छन् । न त उनलाई समाजसेवा गरेको नाटक गरेर नाम कमाएर चुनाव लड्नुछ । न त कसैलाई एक बोरा चामल दिएको फोटो खचाएर आत्मरतिमा रमाउनु छ । उनलाई त केवल मानव मात्रको सेवा गर्नुछ । बाँच्नेलाई बचाउँने उपचार केन्द्र ! मरेकालाई विसर्जन गर्ने मोक्षधाम !

उही पुरानो सुपर स्प्लेन्डर बाइक ! आफ्नो घरको मानो! बाइकमा जल्ने पेट्रोल आफ्नै ! कहिले गौरीडाँडाको उकालो औषधी बोकेर उक्लँदै! कहिले मोक्षधाममा जल्नेका लागि आवश्यक प्रबन्ध मिलाउँदै।
वा ! जिन्दगी होस् त कृष्णप्रसाद देवकोटा जस्तो । जसको जीवनी किताबले त लेख्दैन तर किताबमा लेखिनेको भन्दा महान जीवनी यिनीसँगै छ ।
म एकहत्तर वर्षका तन्नेरी देवकोटालाई शिर झुँकाउँदै जीवनीको बिट मार्छु।

– लिलानाथ गौतम (शिक्षक)
(२०८१ कात्तिक १९)

 

(टेलिभिजन कार्यक्रम ‘पञ्चामृत’मा कृष्ण प्रसाद देवकोटा)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्