वडाले तिरिदियो किसानको विद्युत् महसुल
सप्तरी, भदौ २८ गते । सप्तरीको महादेवा गाउँपालिका–२, महादेवा गाउँका कृषक नेपाली मण्डललाई यस वर्ष सिँचाइ गर्न मोटर चलाउँदा खपत भएको विद्युत् महसुल वडा कार्यालयले तिरिदिएको छ । यस वर्ष उहाँले डेढ बिघा खेतमा धान रोप्नुभएको छ । त्यति खेत हिल्याउन एक हर्सपावरको विद्युतीय मोटर प्रयोग गरिएको थियो । विद्युत् प्रयोग गरेबापतको महसुल तिर्नु नपरेपछि कृषक मण्डल खुशी हुनुभएको छ ।
त्यस्तै, सोही ठाउँका अर्का कृषक सत्यनारायण रजकले विद्युतीय मोटरको माध्यमबाट सिँचाइ गरेर दुई बिघा खेतमा धान बाली लगाउनुभएको छ । उहाँलाई पनि विद्युत् खपतबापतको महसुल तिर्नुपरेन । विद्युत् महसुल तिर्नु नपरेपछि यस वर्ष मात्र १० हजार रुपियाँ जोगिएको रजकले बताउनुभयो ।
महादेवा टोलका कृषक नेपाली र सत्यनारायणले मात्र होइन, महादेवा गाउँपालिका–२ भित्रका कुनै पनि कृषकलाई सिँचाइका लागि विद्युत् महसुल बुझाउनुपरेको छैन । सबै कृषकलाई खेत सिँचाइ गर्न वडा कार्यालयले विद्युतको व्यवस्था गरेको छ । वडा कार्यालयले एकमुष्ट विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरण हनुमाननगर वितरण केन्द्रमा बुझाउने व्यवस्था मिलाएको छ ।
वडाध्यक्ष जागेश्वरप्रसाद इसरले खेतमा सहज सिँचाइका लागि कृषि मिटरको विद्युत् महसुल वडा कार्यालयबाट तिर्ने व्यवस्था मिलाएको बताउनुभयो । गत आवमा ७० जना कृषकको एक लाख रुपियाँ नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गरेको बताउँदै उहाँले आफ्नो कार्यकाल रहेसम्म किसानलाई यो सुविधा प्रदान गरिने जानकारी दिनुभयो ।
वडाध्यक्ष इसरले वडाभित्रका विभिन्न स्थानमा कृषकले कृषि मिटर जडान सिँचाइ मोटर जडान गरेर चलाउने गरेको बताउनुभयो । खेत खेतमा सिँचाइ गर्न निःशुल्क विद्युत् उपलब्ध हुँदा कृषि उत्पादन बढेर कृषकको आर्थिक वृद्धिमा योगदान पुग्ने बताउँदै वडाध्यक्ष इसरले निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने क्रममा कृषकलाई निःशुल्क बिजुलीको व्यवस्था गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ ९५ प्रतिशत कृषक र खेतीयोग्य जमिन छन् । त्यसैले पहिलो प्राथमिकता कृषि क्षेत्रको विकासलाई दिएका छौँ । यस्तो कार्यले कृषकलाई प्रत्यक्ष लाभ पुगेको छ ।” यसलगायत स्वास्थ्य, शिक्षा, बाटो, खानेपानी र भौतिक पूर्वाधार निर्माणलगायत विकासको कामलाई सँगसँगै बढाइएको उहाँले बताउनुभयो ।
स्थानीय हरी साफीले वडा कार्यालयले विद्युत् महसुल तिरिदिएपछि कृषकलाई धेरै राहत पुगेको बताउनुभयो । खेतीयोग्य जमिनमा सिँचाइ पुग्ने हुँदा उत्पादनमा वृद्धि हुने र यसले समग्र कृषकको जनजीवनमा सुधार आउने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “वडाध्यक्षले यो कार्यक्रम ल्याउनुअघि यहाँका थोरै कृषकले कृषि मिटर जडान गर्नुभएकोे थियो । अधिकांश कृषक ‘हुकिङ’ गरेर विद्युत् प्रयोग गर्ने गरेका थिए । विद्युत् चोरी आरोपमा पक्राउ पर्दा जरिवाना तिर्नुपर्ने, मोटर जफत जस्ता समस्या कृषकले भोग्दै आएका थिए । अब विद्युत् महसुल वडाले तिरिदिन थालेपछि यहाँका कृषक ढुक्कले विद्युत् प्रयोग गर्न पाएका छन् ।” नेपाल विद्युत् प्राधिकरण हनुमाननगर वितरण केन्द्रले वडा कार्यालयको यस कार्यले विद्युत् चुहावटमा कमी आएको जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #वडाले तिरिदियो किसानको विद्युत् महसुल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्