बङ्गलादेशको आन्दोलनले आयातनिर्यातमा सामान्य प्रभाव
काठमाडौँ, साउन २६ गते । बङ्गलादेशमा जारी आन्दोलनले नेपालसँग हुने आयातनिर्यात व्यापारमा सामान्य प्रभाव परेको छ । आन्दोलन सुरु भएदेखि नेपालसँग मात्र होइन भारत र भुटानसँग हुने व्यापार प्रभावित भएको छ । बङ्गलादेशको नाका बङ्गलाबन्ध खुल्ने र बन्द हुने क्रम जारी हुँदा व्यापारमा प्रभाव भएको हो ।
बङ्गलादेशसँग नेपालबाट कम मात्र सामान निर्यात भए पनि ठुलो परिमाणमा आयात हुने गरेको छ । बङ्गलादेशमा लामो समयदेखि भएको आन्दोलनका कारणले आयातनिर्यातमा प्रभाव परेको छ ।
नेपाल दाल, चामल, तेल उद्योग सङ्घका सदस्य वृजेश अग्रवालले नेपालबाट बङ्गलादेश गएका सामान केही दिनअघि नाकामै रोकिएको जानकारी दिनुभयो ।
आन्दोलनका कारणले आयातनिर्यात नै प्रभावित भएको छ, उहाँले भन्नुभयो, “यसको असर दीर्घकालीन रूपमा नभए पनि एक महिनासम्म पर्ने देखिन्छ ।” नेपालबाट थोरै सामान निर्यात भए पनि बङ्गलादेशबाट धेरै सामान आउने गरेको हुँदा त्यसको प्रभाव व्यवसायीलाई पर्ने उहाँले बताउनुभयो । अहिले नाका खुला भए पनि प्रभाव भने कायम रहेको उहाँको भनाइ छ ।
नजिकिँदै गरेको तिज र दसैँलाई लक्षित व्यापारीले बङ्गलादेशबाट सामान ल्याउने तयारी गरेकोमा आन्दोलनका कारण नेपाल सामान आइपुग्न ढिलाई हुने उहाँको भनाइ छ । व्यापारविज्ञ रविशङ्कर सैजुुले बङ्गलादेशको राजनीति अवस्था स्थिर नहुने बेलासम्म नेपालको व्यापारमा प्रत्यक्ष प्रभाव पर्ने बताउनुभयो ।
बङ्गलादेशसँग नेपालको व्यापार सानो भएकाले त्यसको प्रभाव ठुलो नहुने उहाँको भनाइ छ । नेपालको व्यापार भारतसँग धेरै छ, बङ्गलादेशसँगै न्यून भएकाले आन्दोलनले दीर्घकालीन रूपमा प्रभाव नपर्ने उहाँको भनाइ छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता चण्डीप्रसाद घिमिरेले बङ्गलादेशमा नयाँ सरकार बनिसकेकाले आयात निर्यात नियमित भइसकेकाले त्यसको प्रभाव नपर्ने बताउनुभयो । पछिल्लो समयको आन्दोलनले दुई/तीन दिन नाकामा सामान्य अवरोध भए पनि आन्दोलन सकिएर नयाँ सरकार बनिसकेकाले नेपालको व्यापारमा प्रभाव नपर्ने उहाँको भनाइ छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले बङ्गलादेशको आन्दोलनका कारण असार अन्तिम सातादेखि आयातनिर्यातमा सामान्य अवरोध भए पनि हाल सामान्य हुँदै गइरहेको जानकारी दिनुभयो ।
मेची भन्सार कार्यालयबाट बङ्गलादेशका लागि न्यून परिमाणमा आयातनिर्यात हुन्छ । दुईचार दिन नाका रोकिए पनि राजस्व सङ्कलनमा कमी नआएको उहाँले बताउनु भयो ।
भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ नेपालबाट ४६ करोड ३१ लाख बराबरको सामग्री निर्यात भएकोमा बङ्गलादेशबाट तीन अर्ब ८३ करोड ६८ लाख बराबरको आयात भएको छ ।
बङ्गलादेशबाट गत वर्ष झन्डै चार अर्ब रुपियाँको आयात भए पनि नेपालबाट न्यून निर्यात हुँदा व्यापार घाटा भने उच्च रहेको छ । नेपालको बङ्गलादेशसँग गत आवमा तीन अर्ब ६७ करोड रुपियाँ व्यापार घाटामा रहेको छ । आव २०७९/८० मा नेपालबाट ५७ करोड चार लाख रुपियाँ बराबरको निर्यात हुँदा बङ्गलादेशबाट छ अर्ब ४६ करोडको सामान आयात भएको थियो ।
यस्तै आव २०७८/७९ मा नेपालबाट ७२ करोड रुपियाँको सामान निर्यात हुँदा ११ अर्ब २० करोड रुपियाँको सामान आयात भएको थियो । यस्तै आर्थिक २०७७/७८ मा ६७ करोड चार लाख रुपियाँको निर्यात हुँदा १० अर्ब ७६ करोड चार लाख रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ ।
बङ्गलादेशबाट आलु, स्ट्रेप्सिल, टोस्डेट ब्रेड, क्रिप्स, कच्चा जुट, सर्जिकल उपचार सामग्री, केही औषधी, जुस, ब्याट्री, खाद्यान्न, रेडिमेट गार्मेन्ट, औषधिलगायत २० प्रकारका सामग्री आयात हुने गरेको छ । नेपालबाट भने जडीबुटी, च्यावनप्रास, मुसुरोको दाल, अलैँची, कफीलगायतका सामग्री निर्यात हुने गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बङ्गलादेशको आन्दोलनले आयातनिर्यातमा सामान्य प्रभाव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्