राष्ट्रिय धान दिवस, आत्मनिर्भर बनाउन जोडतोड
काठमाडौँ, असार १५ गते । आज असार १५, मानो रोपेर मुरी उब्जाउने मुख्य दिन । यस दिनलाई किसानले अरू पनि विभिन्न रूपमा सम्झिन्छन् । असार १५ मा खेतमा धान रोपाइँ गरेपछि दही चिउरा खाने चलन पनि छ ।
कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ देखि असार १५ मा नै राष्ट्रिय धान दिवस मनाउन थालिएको छ । यस वर्ष २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।
सरकारले असार १५ गते धान दिवस तथा रोपाइँ महोत्सवको मुख्य कार्यक्रम चितवनमा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा चितवनको बछौलीमा हुने कृषि विभागका रोपाइँ महोत्सव हुने महानिर्देशक डा. नरहरिप्रसाद घिमिरे बताउनुभयो । चितवनमा डेढ बिघामा धान रोपाइँ गरेर यो दिवस मनाउन लागेको कृषिमन्त्री ज्वालाकुमारी साहले बताउनुभयो ।
पूरै डेढ बिघामा धान रोपाइँ सकेर मात्र कार्यक्रम सम्पन्न हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षमा धानमा आत्मनिर्भर हुने लक्ष्य सरकारले लिएको छ, सोही अनुसार धान उत्पादनमा वृद्धि गर्न अभियान चलाउने तयारी भइरहेको छ ।” हाल ५७ लाख मेट्रिक धान उत्पादन भइरहेको छ, आत्मनिर्भर हुनका लागि तीन लाख मेट्रिक टन धानको अभाव रहेको र अगामी आर्थिक वर्षमा त्यो तीन लाख मेट्रिक टन जसरी पनि पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । त्यसका लागि उन्नत जातको धान लगाउने तथा चैत धानमा जोड दिने तयारी रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जुन धान बढी फल्छ, बढी उत्पादन दिन्छ, त्यही धानको बिउ व्यवस्था गरेर खेती लगाउने व्यवस्था हुन्छ । त्यसबाहेक चैते धान उत्पादनमा जोड दिएपछि अगामी आर्थिक वर्षमै आत्मनिर्भर हुन्छौँ ।” उहाँका अनुसार धान उत्पादन वृद्धिका लागि सुक्खा सहने, पानी सहने जातका बिउ विकास गरिएको छ । त्यसका साथै कम समयमा फल्ने र पाक्ने जातका धानको बिउको समय व्यवस्था भइरहेको छ । मसिनो र बास्नादार धान उत्पादनमा समेत जोड दिने बताउनुभयो ।
नार्कले चैते धानसम्बन्धी अध्ययन २०७४ सालदेखि थालेको हो । २०७४ सालमा नार्कले चैतमा किसानलाई चैते–५ जातको धान लगाउन सकिने सिफारिस गरेको थियो । त्यही बेलादेखि चैते धानमा सरकारले लगानी गर्न सुरु गरेको देखिन्छ ।
चैते–५ जातको धानको दाना मसिनो, धेरै फल्ने, रोग र किरा कम लाग्ने भनेर प्रमाणित गरेपछि किसानले यो धान लगाउन सुरु गरेका थिए । अहिले किरा कम लाग्ने, मोटो दाना भएको चैते–४ जातको धान पनि आइसकेको छ । यो जात पनि किसानले मन पराउन थालेका छन् ।
बाह्रै महिना सिँचाइ सुविधा हुने केही ठाउँमा मात्र चैते धान लगाउने गरिएकामा अहिले नार्कले निकालेको नयाँ जात कम सिँचाइ हुने ठाउँमा पनि लगाउन थालिएको छ । हाल हर्दिनाथ–१, चैते–३, चैते–२, चैते–४, चैते–५, चैते–६ जातका धान लगाउने गरिएको छ । हाल नेपालमा एक लाख ५० हजार हेक्टरमा चैते धान खेती हुन्छ ।
कृषि विभागका महानिर्देशक घिमिरेका अनुसार यस पटकको नाराले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं विकास तथा उपलब्ध प्रविधिको प्रचार गरी त्यसको अवलम्बन गर्ने सन्देश दिएको छ ।
कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेलले नेपालमा धान उत्पादनमा नभई व्यवस्थापनको समस्या रहेको बताउनुभयो । नेपालीलाई चाहिने जति धान नेपालमै उत्पादन हुन्छ तर स्वाद अनुसारको धान उत्पादन नभएका कारण परनिर्भर हुनुपरेको छ ।
यो चालु आर्थिक वर्षमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको थियो । अगामी आर्थिक वर्षमा धान उत्पादनमा वृद्धि हुने अनुमान कृषि मन्त्रालयले गरेको छ । धान बालीको औसत उत्पादकत्व गत आर्थिक वर्षको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी रहेको कृषि मन्त्रालयले जनाएको छ ।
आव २०७९/८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरमा र चालु आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ३८ हजार ९८९ हेक्टरमा रोपाइँ भएको थियो । गत वर्षभन्दा आठ हजार आठ सय हेक्टर क्षेत्रमा कम रोपाइँ भएको थियो तैपनि धान उत्पादनमा वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ । यो वर्ष हालसम्म ९.८ प्रतिशत धान रोपाइँ भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आत्मनिर्भर बनाउन जोडतोड, #राष्ट्रिय धान दिवस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्