झोलुङ्गे पुल नबन्दा विद्यार्थीलाई सास्ती
धनगढी, जेठ ३१ गते । झोलुङ्गे पुल नबन्दा मोहना नदीपारि रहेका दुई गाउँका विद्यार्थीलाई सास्ती भएको छ । कैलारी गाउँपालिका–३ मा रहेको मोहनपुर र शिवरत्नपुर गाउँका विद्यार्थीलाई समस्या भएको हो । आधारभूत तहसम्म पढाइ हुने विद्यालय गाउँमा नहुँदा दुवै गाउँका विद्यार्थी मोहना नदी तरेर अध्ययनका लागि पारिपट्टिको भितरिया, ‘के’ गाउँ र हसुलिया पुग्ने गरेका छन् । पारिपट्टिका गाउँसँग जोड्नका लागि झोलुङ्गे पुल छैन । मोहनपुरमा रहेको झोलुङ्गे पुलको पिल्लर मात्रै निर्माण भएको छ भने शिवरत्नपुरमा पनि पुल निर्माण अलपत्र छ ।
पुल नहुँदा आफूहरूले धेरै दुःख कष्ट गरेर विद्यालयसम्म आउजाउ गर्ने गरेको जनकल्याण मावि कक्षा १० मा अध्ययनरत आशिका चौधरीले बताउनुभयो । उहाँले वर्षायाममा नदीमा बाढी आएपछि वारपार गर्न नसकेर पढाइ छुट्ने गरेको बताउनुभयो । नदी वारपार गर्न नसकेका कारण कुनै बेला परीक्षा पनि छुट्ने गरेको विद्यार्थीको भनाइ छ । उनीहरूले झोलुङ्गे पुल चाँडै बने आफूहरूलाई सहज हुने बताएका छन् । झोलुङ्गे पुल हालसम्म नबनेकोमा गुनासो गर्दै कक्षा १० मा अध्ययनरत अर्का विद्यार्थी महिमा चौधरीले नदीमा पुल नहुँदा धेरैको भविष्य नै अन्धकार बनेको बताउनुभयो ।
नदी तर्नुपर्ने कारणले कतिपय विद्यार्थीले बिचमै विद्यालय छोड्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँमा ५ कक्षासम्म पढिसकेपछि कतिपय विद्यार्थीको त्यहीँबाटै औपचारिक रूपमा पढाइ सकिन्छ । विद्यालय टाढा छ, त्यसैमा पुल नहुँदा बर्खाका आधा जति समय पढाइ छुट्ने गरेको छ ।” स्वास्थ्य सेवा लिनका लागि पनि दुवै गाउँवासीले सास्ती खेप्नु परेको छ । आफ्नो गाउँमा खोप केन्द्र नहुँदा उनीहरू नदी तरेर पारिरहेको स्वास्थ्य केन्द्रमा खोप लगाउनका लागि पुग्ने गरेका छन् ।
झोलुङ्गे पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले धेरै दुःख भोग्नु परेको वडा सदस्य सैतुराम चौधरीले बताउनुभयो । उहाँले पुलको पिल्लर जोगाउनका लागि नदीमा जैविक तटबन्ध गरिएकाले पुल बन्नेमा आफूहरू विश्वस्त रहेको उल्लेख गर्नुभयो । वडा कार्यालयको आर्थिक सहयोगमा जैविक तटबन्ध निर्माण गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #झोलुङ्गे पुल नबन्दा विद्यार्थीलाई सास्ती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्