बालउद्यान व्यवसायमा ठुलो राजस्व छली
ढल्केबर, जेठ १४ गते । बालउद्यानका सञ्चालकहरूले वार्षिक अरबौँ रुपियाँ राजस्व छली गर्ने गरेको तथ्य खुलेको छ । मेला महोत्सवमा रोटेपिङ लगायत विभिन्न मनोरञ्जनका साधन सञ्चालन गर्ने बालउद्यानका सञ्चालकहरूले भन्सार तथा आन्तरिक राजस्व छली गर्ने गरेका हुन् ।
बालउद्यानका सञ्चालक अधिकांश भारतीय नागरिक छन् । उहाँहरू बढीमा तीन महिनाका लागि अस्थायी भन्सार तिरेर बालउद्यानको सामान नेपाल ल्याउनुहुन्छ र वर्षौँसम्म सञ्चालन गरेर राजस्व छल्ने गरेको नेपाल मेला महोत्सव सङ्घका केन्द्रीय अध्यक्ष नारायण महतोले बताउनुभयो ।
त्यस्तै, कुनै पनि अस्थायी प्रायोजनका लागि व्यावसायिक कारोबार गर्दा सम्बन्धित ठाउँमा रहेको आन्तरिक राजस्व कार्यालयबाट अस्थायी पान नम्बर लिनुपर्ने कानुनी व्यवस्था छ। तर उहाँहरू त्यस्तो कुनै अनुमति नलिई निर्वाधरुपमा व्यवसाय चलाएर राजस्व छल्ने गरेको उहाँले जानकारी दिनुभयो ।
बालउद्यानको नाउँमा हुने गरेको राजस्व छलीबारे नेपाल मेला महोत्सव सङ्घले आन्तरिक अनुगमन गरेर त्यसको प्रतिवेदन देशको ७७ वटै जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा समेत पत्राचार गरेर जानकारी गराइएको छ । राजस्व छली गरिरहेका भारतीय बालउद्यान व्यवसायीलाई नियन्त्रणमा ल्याउन केही दिनअगाडि मात्र राष्ट्रिय अनुसन्धान विभागलाई पत्राचार गरेको उहाँको भनाइ छ ।
“बालउद्यानभित्र रोटेपिङ्, थ्रीवान, जम्पिङ, रेल, झुलापिङ, ब्रेकडान्स, मिक्की भूत लगायत मनोरञ्जनका साधनहरू हुन्छन् । यसबाट दैनिक लाखौँ रुपियाँको कारोबार हुन्छ तर व्यवसायीले कुनै पनि निकायमा आम्दानी कर बुझाउँदैन”, अध्यक्ष महतोले भन्नुभयो । उहाँहरू अस्थायी पान नम्बर बिना नै प्रवेश शुल्कको नाउँमा एक सयदेखि १५० रुपियाँसम्म उठाउने गरेको उहाँको भनाइ छ ।
अध्यक्ष महतोले मेला महोत्सवमा बालउद्यान सञ्चालनका लागि अनुमति दिँदा तथा बालउद्यानका सामान भारतबाट आयात गर्दा नेपाल मेला महोत्सव सङ्घको सिफारिस अनिवार्य लागू गरे राजस्व सङ्कलनमा सहयोग पुर्याउन सकिने बताउनुभयो । नियामक निकाय सय विषयमा गम्भीर बन्नुपर्ने भन्दै उहाँले बालउद्यानमाथि कडाइ नहुँदा वार्षिक दुई अर्ब रुपियाँ अनधिकृत तवरले भारततर्फ जाने गरेको जानकारी दिनुभयो ।
तीन महिनाका लागि भनेर भारतबाट आयात गरिएका ट्रकका ट्रक बालउद्यानका सामान वर्षौँसम्म राखेर आम्दानी गर्ने तर राजस्व नबुझाउनेलाई छानबिन गरी कानुको दायरा ल्याउनुपर्ने र म्याद नाघेका खेल सामान जफल गर्नुपर्ने अध्यक्ष महतोले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालउद्यान व्यवसायमा ठुलो राजस्व छली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्