२६ स्थानीय तहको उपनिर्वाचन हुन बाँकी, इलाम २ मा चहलपहल बढ्यो
फागुन । आउँदो वैशाख १५ गतेलाई प्रतिनिधि सभा र प्रदेश सभाका दुवै पदको उपनिर्वाचन हुने निश्चित भएपनि स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ ।
पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको संख्या २६ पुगेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने जानकारी दिनुभयो ।
पछिल्लो पटक सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका–६, कर्णालीको सानीभेरी गाउँपालिका–५ र मधेशको डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन भएको छ । आयोगका अनुसार जिल्ला समन्वय समितिको प्रमुख दुई, नगर उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एक एक तथा उपाध्यक्ष दुई र वडाध्यक्ष २० गरी २६ पद रिक्त छन् । ति स्थानको उपनिर्वाचनको मिति तोक्न ढिलाइ भएको छ । आयोगले सरकारसँग परामर्श जारी राखेको र केही दिनभित्र मिति तोक्ने जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन हुने इलाम २ मा चुनावी चहलपहल बढेको छ । नयाँ राजनीतिक समीकरणले उपनिर्वाचन थप गर्माएको छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले इलाम २ लाई प्रतिष्ठाको विषय बनाएका छन् । सोही अनुरुप आकांक्षीहरुको दौडधुप बढेको छ ।
एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने गरी तयारी थालेको छ । जिल्ला सचिवालयको बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरिसकेको छ ।
कार्यदलले आउँदो चैत ३ गतेसम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ । उम्मेदवार हुन इच्छुकले यही फागुन २७ सम्ममा आफ्नो व्यक्तिगत विवरणसहित कार्यदयमा इच्छा जाहेर गर्नुपर्नेछ ।
एमाले केन्द्रीय समितिले जिल्लामा पठाएको अन्तरपार्टी निर्देशन (अपानि)मा उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने उल्लेख छ । उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको मापदण्डसमेत एमालेले निर्धारण गरेको छ ।
एमालेबाट बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी, डा.देवी क्षेत्री दुलाल, दिवंगत नेता सुवासचन्द्र नेम्बाङका छोरा सुहाङले आफूलाई बलियो उम्मेदवारका रुपमा उभ्याउनुभएको छ ।
नेपाली कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का २०७९ मा व्यहोरेको हारलाई जितमा परिणत गर्ने अभियानमा हुनुहुन्छ । जिल्लामा कांग्रेसको संगठनभित्र बलियो पकड बनाएका भेषराज आचार्य यस पटक जसरी पनि टिकट लिने र कांग्रेसलाई विजयी गराउने अभियानमा रहेको दाबी गरिरहनुभएको छ । पूर्वराज्यमन्त्री केशव थापा र पूर्वसांसद नगेन्द्र कुमाल पनि कांग्रेसबाट टिकटको दौडमा हुनुहुन्छ ।
वैकल्पिक दलका नेताहरु पनि चुनावी अभियानमा जुटिसकेका छन् । पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने संभावना देखिएको छ । माओवादी केन्द्र परित्याग गरेका पत्रकार मिलन लिम्बु पनि इलाम २ को उम्मेदवार बन्ने दौडमा हुनुहुन्छ । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आन्तरिकरुपमा उम्मेदवार खोजिरहेको छ ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा), मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय उन्मुक्ति पार्टी (नाउपा) लगायतका दलहरुले पनि आफ्नो उम्मेदवार उठाउने तयारीमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्