मध्यपहाडलाई समुन्नत बनाउने अठोटका साथ ‘समृद्धिका लागि संकल्प यात्रा’ : शंकर पोखरेल
काठमाडौं, १४ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा मध्यपहाडमा समृद्धि खोज्ने यात्रा भएको बताएका छन् ।
बिहीबार बिहान बैतडीको झुलाघाटमा झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सोही अठोटका साथ एमालेले यात्रा प्रारम्भ गरेको बताए । यात्राको क्रममा मध्यपहाडका जनतासँग संवाद गर्ने र एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तन नियाल्ने पोखरेलले जानकारी दिए । भविष्यमा सो क्षेत्रको व्यावसायिक विकासको सम्भावनाको बारेमा अध्ययन गरी विकासको खाका बनाउने उनले प्रष्ट पारे ।
पहाड छाडेर मधेशमा बसाइँ सर्ने प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा सो क्रममा खोजिने पोखरेलले जानकारी दिए । पहाडमा नै बस्ने वातावरण बनाउन यात्रा प्रारम्भ गरिएको उनले प्रष्ट पारे । ‘मध्यपहाडी क्षेत्रलाई आर्थिक, सामाजिक विकासका दृष्टिकोणले नेपालको समुन्नत क्षेत्रको रूपमा विकसित गर्ने अठोटका साथ हामी यो यात्रा आरम्भ गर्दै छौँ’, उनले भने ।
यात्राका क्रममा मध्यपहाडी पुष्पलाल लोकमार्गलाई अझै कसरी छोटो बनाउन सकिन्छ भन्ने सम्भावनाको पनि खोजी गरिने उनले बताए । यात्राको क्रममा प्राविधिक टोलीले सो विषयमा समेत अध्ययन गर्ने उनले जानकारी दिए ।
यात्राका क्रममा जनताका बीचमा व्यापक संवाद गरिने उनले बताए । ‘जनताका गुनासाहरू सुन्ने छौँ, भ्रम निवारण गर्ने छौँ’, उनले भने ।
नेपालमा ६ दशक भन्दा बढी राजनीतिक संघर्ष भएको बताउँदै पोखरेलले अब समृद्धिको यात्रामा अघि बढ्नु पर्ने बताए । समृद्धिको यात्रा ‘समृद्ध नेपाल, सुखी नेपाली’का परिकल्पनाकार केपी शर्मा ओलीको अगुवाइमा अघि बढ्ने उनले प्रष्ट पारे । नेपालको मौलिक संस्कृतिलाई अहिले प्रहार गर्ने प्रयत्न भएको भन्दै पोखरेलले चिन्ता व्यक्त गरे । नेपालको मौलिक संस्कृति नेपालको एकता, समृद्धि र गौरवपूर्ण इतिहासको आधार भएको उनले बताए ।
मुलुकलाई विकसित र समृद्ध बनाउन जनताको जीवनस्तर उकास्न आवश्यक भएको उनले बताए । विकास पहाडतिर उकाल लाग्ने, पहाडका मानिसहरू मधेश र सहर झर्ने कुरालाई कसरी रोक्न सकिन्छ भन्ने उपाय यात्राको क्रममा खोजिने उनले बताए । यात्राको निष्कर्ष सहितको धारणा पुस ५ गते काठमाडौंमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने पोखरेलले जानकारी दिए ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्