Techie IT
बिहीबार, कात्तिक २७,२०८३

एमाले स्वयंसेवक टोलीले गर्‍यो भूकम्पले भत्काएका १६७ घरका भग्नावशेष सफाइ, ८० घर टहरा निर्माण


मंसिर । नेकपा (एमाले)को स्वयंसेवक टोलीले शुक्रबारदेखि भूकम्पको केन्द्रबिन्दु बारेकोटमा काम सुरु गरेको छ । स्वयंसेवक टोलीले भूकम्पले भत्काएका घरहरूका भग्नावशेष हटाउने काम थालेका छन् । भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटमा शुक्रबाट काम सुरु गरिएको र शुक्रबार नै तीन वटा घरको भग्नावशेष हटाई सफा गरिएको छ ।

एमाले स्वयंसेवक टोलीले भेरी नगरपालिका वडा नं. ३ माथिल्लो थाप्लेमा ३७ वटा घरहरूको भग्नावशेष सफा गरेको पार्टीका केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए । त्यहाँ नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)को तीन वटा टोलीले मंसिर १ गतेदेखि काम गरिरहेको छ ।

त्यसैगरी, जाजरकोटकै पिपलडाँडा टोलमा अनेरास्ववियुको टिमले १५ ओटा घरको भग्नावशेष हटाउनुका साथै दुई वटा अस्थायी टहरा बनाएको छ । रावत गाउँमा एमाले सुर्खेतको स्वयंसेवक टोलीले २८ वटा घरका भग्नावशेष सफा गरेको छ भने पाँच वटा अस्थायी आवास बनाएको छ । त्यहाँ खेलकुद महासंघका स्वयंसेवकहरूले पनि काम गरिरहेका छन् । वडा गैरिखाली टोलमा कोसी प्रदेशबाट आएको टोलीले दुई वटा घरको भग्नावशेष सफा गरेको छ ।

त्यस्तै, नलगाड नगरपालिका वडा नं १ को चिउरी गाउँमा सुर्खेतको टोलीले १२ ओटा नयाँ टहरा बनाएको छ भने चार वटा घरको भग्नावशेष हटाएको छ । वडा नं.१ कै कल्पत गाउँमा युवा संघ सुदूरपश्चिमको टोलीले काम गरिरहेको छ । यस टोलीले नगरपालिकाको मापदण्ड अनुसारका सात वटा नयाँ टहरा बनाएको छ भने आठ वटा घरको भग्नावशेष हटाउने र सामान झिक्ने काम गरेको छ ।

त्यसैगरी, कुशे गाउँपालिका वडा नं ७ को धनराशी गाउँमा स्थानीय स्वयंसेवकले बिहीबारबाट काम सुरु गरेका र दुई दिनमा तीन वटा घरको भग्नावशेष हटाई एक वटा नयाँ टहरा बनाएका छन् ।

जाजरकोटमा एमालेका स्वयंसेवकहरू १२ वटा समूहमा विभाजित भएर काम गरिरहेका छन् । हालसम्म १३२ घरका भग्नावशेष हटाई मालसामान झिक्ने काम गरेका छन् भने ३० घर टहरा बनाई हस्तान्तरण गरेका छन् ।

त्यसैगरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ खोलागाउँ र आठविसकोट नगरपालिका–१३ घेत्मामा लुम्बिनीबाट गएको स्वयंसेवकहरूको समूहले काम गरिरहेको सिङ्गो स्वयंसेवक टोलीको नेतृत्व गरिरहेका पार्टी केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख किरण पौडेलले जानकारी दिए ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा आठ वटा समूह, सानीभेरी गाउँपालिकामा तीन समूह र चौरजहारी नगरपालिकामा दुई समूह गरी १३ वटा समूहले काम गरिरहेका छन् । रुकुम पश्चिममा लुम्बिनीबाट गएका २०० जना, सुदूर पश्चिमबाट गएका १९ जना र गण्डकीका २७ जना गरी २४६ जना स्वयंसेवक परिचालित रहेको एमालेले जनाएको छ ।

एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटाका अनुसार रुकुममा हालसम्म ३५ वटा भत्केका घरका भग्नावशेष हटाउनुका साथै ५१ वटा अस्थायी घर टहरा निर्माण गरिएको छ ।

गत कात्तिक १७ गते राती गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा एमालेले एक हजार एक सय स्वयंसेवक परिचालन गरेर पुनर्स्थापना र नवनिर्माणको काम गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले स्वयंसेवक


तपाईको कमेन्ट लेख्नुहोस्