किन भयो महेश बस्नेत र दुर्गा प्रसाईको तिक्तता ? , यस्तो छ बास्तवीकता
विवादास्पद मेडिकल व्यवसायी प्रसाईं कुनै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै निकट थिए । द्वन्द्वका बेला माओवादीलाई सेल्टर दिएको बताउँदै उनी प्रचण्डसँग नजिकिएका थिए ।
२०७३ सालमा प्रधानमन्त्री भएका बेला दाहालले प्रसाईंको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन जोडबल समेत गरेका थिए । तर, डा. गोविन्द केसीको अनशन र विरोधका बीच बीएण्डसीले सम्बन्धन पाउन सकेन ।
पछि नेकपा एमाले र माओवादी मिलेर नेकपा बनेका बेला प्रसाईं केपी शर्मा ओलीतिर निकट भए । एमालेमा प्रवेश गरेर उनी केन्द्रीय सदस्यसम्म बने । तर, पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमा उग्र अभिव्यक्ति दिँदै प्रसाईंले झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाएर कार्यक्रम गरेपछि ओली प्रसाईंसँग चिढिएका थिए । पछि एमालेले उनलाई कारबाही समेत गर्यो ।
त्यसयता ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका प्रसाईंको प्रतिवाद एमाले नेता महेश बस्नेतले गरिरहेका थिए । २२ असोजमा उनलाई युवा संघका कार्यकर्ताहरुले काठमाडौंको जमलमा उनलाई कालोमोसो समेत दलेका थिए । त्यसो त प्रसाईं स्वयंले एक वर्षअघि बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा, लघुवित्त लगायतका विषयलाई लिएर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए ।
जमलमा कालोमोसो दलिएको प्रतिवादमा प्रसाईंनिकट समूहले झापामा बस्नेत गएका बेला कार्यक्रम विथोल्ने प्रयास गरेको थियो । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, त्यसबेला अज्ञात समूहले कार्यस्थलबाहिर रहेको गाडीहरुमा तोडफोड गरेको थियो ।
बस्नेत र प्रसाईंबीच त्यो तिक्तता जारी रहेका बेला दुवैले सार्वजनिक मञ्चहरुमा एकअर्काविरुद्ध अभिव्यक्ति दिइरहेका थिए ।
ऋण, लघुवित्त र मिटरब्याजीविरुद्ध अभिव्यक्ति दिएर आफ्नो पक्षमा जनमत बटुलिरहेका बेला प्रसाईंले ७ कात्तिकदेखि काठमाडौंमा शक्ति प्रदर्शन गर्ने घोषणा गरेका थिए । उनले ‘व्यवस्था बदल्ने’ घोषणासहित कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।
उनको समूहको नामबाट ३ मंसिरमा जारी विज्ञप्तिमा ७ मंसिरदेखि ‘शान्तिपूर्ण नागरिक मुक्ति आन्दोलन’ थालिने भनिएको छ । यसमा प्रसाईंले हिन्दुवादी संगठन, अभियन्तादेखि विदेशमा रहेका नेपालीलाई समेत प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।
यही समयमा युवा संघले पनि भ्रष्टाचार र अराजकताविरुद्ध भन्दै प्रदर्शन गर्ने घोषणा गरेको छ । गएको शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यो पार्टीकै कार्यक्रम भएको बताएका छन् । तर, कतिपयले बस्नेत र प्रसाईंबीचको तिक्ततामा एमाले प्रवेश गरेको टिप्पणी गरेका छन् ।
गृह मन्त्रालयमा भएको सुरक्षा अधिकृतहरुको बैठकमा एमालेलाई कार्यक्रम रोक्न लगाउनुपर्ने माग उठेको थियो ।
उपप्रधान एवं गृहमन्त्री नाराणकाजी श्रेष्ठ पनि गएको शुक्रबार अपराह्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए । तर, एमाले प्रदर्शनबाट पछि हट्ने स्थिति नदेखेपछि प्रशासनले एकैठाउँमा कार्यक्रम गर्न नदिने नीति अख्तियार गरेको उच्च सुरक्षा स्रोत बताउँछ ।
एमाले नेता महेश बस्नेत भने प्रसाईंभन्दा पहिले आफूहरुले कार्यक्रम घोषणा गरेको बताउँछन् । ‘दुई महिनाअघि पदाधिकारी बैठक बसेर यो निर्णय गरिएको हो, सूचना पाएर उनीहरुले जुधाएका हुन्’, बस्नेतले अनलाइनखबरसँग दाबी गरे ।
प्रसाईंसँग समेत अनौपचारिक रुपमा संवाद भएपनि दुवै पछि हट्ने मनस्थितिमा देखिएका थिएनन् । ‘यस्तामा दुवै भिड्ने मनस्थितिमा देखिएपछि अप्रिय घटना हुन नदिने गरी पूर्वतयारी गरेर कार्यक्रम गर्न दिने योजना बनाएका छौं’, गृह मन्त्रालयका एक अधिकारी भन्छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री पनि दुवै पक्षलाई कार्यक्रम सार्न भनिएको बताउँछन् । तर युवा संघले पहिल्यै कार्यक्रम घोषणा गरिसकेको बताएको सुनाउँदै उनले भने, ‘प्रसाईंले वृहत शान्ति सम्झौताको सन्दर्भ पार्दै कार्यक्रम घोषणा गरिएको जिकिर गरे ।’
पटक–पटकको छलफलमा दुवै पक्ष कार्यक्रम सार्न तयार नभएपछि तोकिएको ठाउँमा कार्यक्रम गर्न स्वीकृति दिएको बताउँदै खत्री भन्छन्, ‘संविधान र कानून विपरीत कुनै पनि गतिविधि भए बल प्रयोग हुन्छ भनेर स्पष्ट भनेका छौं ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #किन भयो महेश बस्नेत र दुर्गा प्रसाईको तिक्तता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्