राजधानीमा तिहारको चहलपहल बढ्यो
काठमाडौँ। काठमाडौँको मुख्य व्यापारिक क्षेत्र असनचोकमा तिहार सामग्री बेच्दै गर्नुभएकी रेश्मा तुलाधर नेपालीको दोस्रो ठूला पर्व नजिकिएसँगै व्यापार उल्लासमय बन्दै गएको बताउनुहुन्छ ।
“केही समय पहिला सुनसान बनेको व्यापार चाडवाड नजिकिएसँगै चहलपहल बढ्दो छ । विशेष गरी तिहार केन्द्रित सामग्री यस ठाउँमा बिक्री हुनाले उपत्यकावासी र उपत्यकाबाट तिहारको लागि बाहिरिने सर्वसाधारणको किनमेलको चाप अहिले उल्लेख्य छ । व्यापार पनि उल्लासमय बन्दै गएको छ”, उहाँ भन्नुहुन्छ ।
शुभ दीपावली नजिकिएसँगै काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भोटाहिटी लगायतका प्रमुख व्यापारिक क्षेत्रमा झिलिमिली बत्ती, दियो, मखमली तथा सयपत्री फूल, सप्तरङ्गी टिका, तामा, पित्तलका भाँडा, भाइमसला लगायतका सामग्री किन्ने मानिसको घुइँचो देखिन्छ । तीन वर्षदेखि भाइ मसालाका सामग्री बजारबाट ल्याई आफैँ प्याकेजिङ गर्दै आउनुभएकी तुलाधर दिउँसोको समयमा व्यापार र राति प्याकेजिङको काम गर्ने गरेको बताउनुहुन्छ । “भाइ मसलाको लागि सामान बाहिर बजारबाट ल्याएका हुन्छौँ । दिउँसोको समयमा व्यापार गर्छौँ । राति मलगायत अन्य साथीले प्याकेजिङको काम गर्छौँ । यसरी गरिएको व्यापारबाट आम्दानीमा केही वृद्धि हुन्छ”, उहाँ भन्नुहुन्छ ।
असनचोकमा फुटपाथमा व्यापार गर्दै आउनुभएकी शारदा शाहीले विगत ३० वर्षदेखि माटोका दियो लगायतका केही पूजा सामाग्री बेच्दै आउनुभएको छ । आफ्ना बाबुआमाले परापूर्वदेखि गर्दै आएको पेसालाई अँगाल्दै आउनुभएकी शाहीले अन्य समयमा फलफूल तथा पूजाका सामग्री बेच्नुहुन्थ्यो ।
शाहीले चाडवाड लक्षित व्यापारमा महानगरले सबै व्यापारीलाई समान व्यवहार नगरेको बताउनुहुन्छ । “महानगरले एउटै ठाउँमा एकातिर फुटपाथ राख्न दिन्छ अर्कोतिर हटाउँछ । चाडबाडको समयमा दुई चारदिन फुटपाथमा व्यवस्थित तरिकाले व्यापार गर्न दिनुपर्छ । त्यो व्यवस्था महानगरले गर्नुपर्छ”, उहाँ बताउनुहुन्छ ।
व्यापारिक क्षेत्रको रुपमा रहेको असन क्षेत्रलाई व्यवस्थित गर्न असन सेवा समिति भएपनि अस्तव्यस्त रहेको उहाँ बताउनुहुन्छ । २० वर्षदेखि असनचोकमा तिहारको समयमा मखमली फूलको व्यापार गर्दै आउनुभएकी सुनिता उप्रेतीले तिहारमा व्यापार सन्तोषजनक भएता पनि अन्य समयमा नभएको बताउनुहुन्छ । “तिहारमा व्यापार सन्तोषजनक छ । अन्य समयमा छैन । तिहारको पाँच÷सात दिन गरिने व्यापारले वर्षभरिलाई पु¥याउनुपर्ने बाध्यता छ ।”
अन्य समयमा तरकारी व्यापार गर्दै आउनुभएकी उप्रेतीले तिहार नजिकिएसँगै सर्वसाधारणको माग तिहार केन्द्रित सामग्रीमा हुनाले र छोटो समयमा तुलनात्मक रुपमा आम्दानी बढी हुनाले मखमली फुलको माला बिक्री गरेको बताउनुहुन्छ । जताततै व्यापारीको कोलाहलमा तिहारका सामाग्री किन्ने सर्वसाधारणको घुइँचोले अहिले असनचोक अस्तव्यस्त बनेको छ । व्यापारिक केन्द्रका रुपमा रहेको असन, इन्द्रचोक मानिस, सवारी साधनको आवतजावतले व्यस्त देखिन्छ ।
इन्द्रचोकमा तिहारको लागि झिलिमिली बत्ती बिक्री गर्दै आउनुभएका कुलप्रसाद महतोले चाडबाडको बेला व्यापार सुरु गर्नुभयो । आफ्ना भाइले गर्दै आएको व्यापारबाट आकर्षित भएर यसपटक महतोले पनि झिलिमिली बत्ती बिक्री गर्नुहुन्छ । व्यापारिक अनुभव नभएका कारण व्यापार सन्तोषजनक नभएको उहाँ बताउनुहुन्छ । “भाईको व्यापारबाट आकर्षित भएर मैलेपनि व्यापार सुरु गरे तर व्यापारिक अनुभव कम भएका कारण खासै व्यापार छैन” उहाँ भन्नुहुन्छ ।
महतोजस्तै इन्द्रचोकमा चप्पलको व्यापार गर्दै आउनुभएका कृष्ण यादवले तिहार नजिकिएसँगै सप्तरङ्गी टिकाको व्यापार गर्दै आएको बताउनुहुन्छ, “वर्षमा पाँच÷सात दिन गरिने सप्तरङ्गीको व्यापार सन्तोषजनक रहने तर अन्य समयमा व्यापार सामान्य रहने गरेको छ । हिजोआज रङ्ग लैजाने मानिसको चाप बढ्दो छ”, उहाँ भन्नुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजधानीमा तिहारको चहलपहल बढ्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्