Techie IT
शनिबार, वैशाख २७,२०८२

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरामा भव्य स्वागत


पोखरा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज (सोमबार) पोखरामा भव्य स्वागत गरिएको छ । नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आउनु भएको महासचिव गुटेरेस सोमबार दिउँसो हवाई मार्ग हुँदै करिब २ः०५ बजे पोखरा विमानस्थल (पुरानो) अवतरण गर्दा उहाँलाई पोखरामा बाजा गाजा सहित भव्य स्वागत सत्कार गरिएको हो ।

सोमबार महासचिव गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, पर्यटन कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, पोखराका मेयर धनराज आचार्य उपमेयर मन्जुदेवि गुरुङले माला, खादा, नेपाली ढाकाटोपी लगाएर स्वागत गर्नु भएको हो भने पन्चे बाजा सहित ताया मचाः नृत्य सहितको विभिन्न जनजातिको भेषभुष सहित झाकी प्रदर्शनी समेत गरिएको छ । फिस्टेल लजमा १ः५५ बजे पोखरा विमानस्थल आउने कार्यतालिका तय भए पनि करिब १० मिनेट ढिलो गरी हेलिकोप्टर अवतरण गर्नु भएको महासचिव गुटेरेस पोखरा विमानस्थलमा भव्य स्वागत गरेको देखेर खुसि व्यक्त गर्नु भएको थियो ।

पोखरा विमानस्थलमा करिब ५० मिटर रातो कार्पेट विच्छाइएको थियो भने उहाँलाई स्वागत गर्न प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् लगायतका विभिन्न संघ संस्थाहरू विमानस्थलमा पुग्नु भएको थियो । महासचिव गुटेरेस युएनको गाडीमा सवार भई कालो सिसा लगाएको गाडी भित्रै बसेर सबैलाई हात हल्लाउनु भएको थियो । महासचिव गुटेरेसलाई पोखरामा शान्ति सुरक्षा कायम गर्न कास्की प्रहरीले फिस्टेल जल देखि पोखरा विमानस्थल क्षेत्र वरिपरि बाक्लो रुपमा सुरक्षाकर्मी खटाएको थियो । पोखरा लेकसाइड स्थित फिस्टेल लजमा उहाँ आज एक रात बस्नु हुने भएको छ ।

मङ्गलवार बिहान महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर अवलोकन गर्न जानु हुने भएको हो । नेपाली सेनाको हेलिकोप्टर मार्फत बिहान ६ः३० बजे अन्नपूर्ण आधार शिविर ९एबीसी० प्रस्थान गर्नु हुने भएको छ भने २० मिनेटको यात्रामा एबीसी पुगेसँगै उहाँले करिब एबीसीमा ४० मिनेट अध्ययन अवलोकन गर्ने समय तालिका सार्वजनिक गरिएको छ । सोमबार बिहान ७ः५० एबीसीबाट उडान गरी ७ः५० बजे पोखरा विमानस्थलमा अवतरण गर्ने समय तालिका तय गरिएको छ भने त्यस पछि बिहान पोखरा क्षेत्रका पत्रकारसँग भेटघाट गर्ने र त्यस पछि ८ः१५ बजे भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तर्फ प्रस्थान गर्नु हुने भएको प्रशासनले जनाएको छ । उहाँ करिब २० मिनेटको यात्रामा भैरहवा पुग्नु हुने भएको छ । पोखराको आकाश धेरै दिन देखि खुल्ला भए पनि महासचिव गुटेरेस पोखरा आउँदा कुहिरोले हिमश्रृखला छेकिएको थियो ।

यसैबिच मङ्गलवार एबीसीमा अन्नपूर्ण गाउँपालिकामा पर्ने एबीसी क्षेत्रमा अवलोकन सहित स्थानीय र गाउँपालिकाले समेत भव्य स्वागतको तयारी गरेको गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले बताउनु भयो ।

महासचिव गुटेरेसलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नु भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आउनुभएको हो । राष्ट्रसङ्घका महासचिवको करिब डेढ दशक पछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । उहाँको भ्रमणको क्रममा शान्ति प्रक्रिया, नेपालको दिगो विकास, जलवायु परिवर्तन, कोरोनाबाट प्रभावित भएको अर्थतन्त्र लगायतको विषयमा समेत छलफल हुने भएको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एन्टोनियो गुटेरेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:16 am6:44 pm +0545