Techie IT
शुक्रबार, वैशाख १८,२०८३

देउवाको सभापतिको उम्मेदवार म बन्न सक्छुः कोइराला


चितवन, २० भदौ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुंगो भने नलागिसके जानकारी दिए ।

विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यो प्रतिक्रिया दिएका हुन् ।

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाई हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले भने, ‘सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?’

पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ थियो । तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभन्नुभएको उनको भनाइ थियो ।

उनले भने ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उहाँहरुको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु ।’


क्याटेगोरी : समाचार
ट्याग : #डा. शशांक कोइराला


तपाईको कमेन्ट लेख्नुहोस्