Techie IT
बिहीबार, कात्तिक २७,२०८३

बामपन्थीहरु कमजोर हुँदा देशविरोधीहरु हौसिएका छन् : पूर्वप्रधानमन्त्री खनाल


पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थीहरु कमजोर हुँदा देशविरोधीहरु हौसिएको बताउनुभएको छ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीसंगको भेटका क्रममा पूर्वप्रधानमन्त्री खनालले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।

भेटका अवसरमा महामन्त्री सिंहले कम्युनिष्ट आन्दोलन संकटमा परिरहेको र कम्युनिष्ट पार्टीहरु दक्षिणपन्थी गठबन्धनमा फसिरहेको बताउनुभयो । महामन्त्री सिंहले युवा पुस्ता र महिलाहरुमा कम्युनिष्ट आन्दोलन, श्रमजीवी वर्गप्रतिको चेतना विकास गर्नु आवश्यक भएको बताउनुभएको छ ।

नेकपा मसालका महामन्त्री सिंहले अहिले साम्राज्यवादीहरुलाई हेर्ने दृष्टिकोणमा कम्युनिष्ट भनिने पार्टीहरुमा पनि धमिलो वर्गदृष्टि भएकोमा चिन्ता व्यक्त गर्नुभयो । भेटका अवसरमा सिंहले पूर्वप्रधानमन्त्री खनाललाई बामपन्थी आन्दोलन एकढिक्का बनाएर नयाँ ढंगले अगाडि बढ्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

भेटका क्रममा नेताहरुबीच राष्ट्रियताका सवालमा दलहरु विभाजित भईरहेको, साम्राज्यवादीहरुका कदमहरुप्रतिको दृष्टिकोण धमिलो भएकोमा चिन्ता व्यक्त भएको थियो ।

अहिलेको समयमा वर्ग दृष्टिकोण प्रष्ट गरेर, युग र समाजको अवस्था र चरित्रको विश्लेषण गरेर सोही अनुसारको नीति लिई अघि बढ्न बामपन्थी दलहरुबीच साझा धारणा बन्नुपर्नेमा नेताहरुले जोड दिनुभएको थियो ।

खनालले सबै बामपन्थीहरुलाई समेट्न आफूले साझा मञ्च निर्माणको थालनी गरेको पनि बताउँदै सबै अग्रज बामपन्थीहरुको साथ र युवाहरुको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #पूर्वप्रधानमन्त्री खनाल


तपाईको कमेन्ट लेख्नुहोस्