Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

नेपाल वायुसेवा निगमको वाइडबडी खरिद शंकास्पद रहेको नयाँ तथ्य


नेपाल वायुसेवा निगमका लागि जीवनदायिनी भन्दै झन्डै सात वर्षअघि भित्र्याइएका दुईवटा वाइडबडी एयरबस जेट विमानको खरिद प्रक्रिया अपारदर्शी र शंकास्पद रहेनेपाल वायुसेवा निगमनयाँ तथ्यहरू भेटिएका छन्। २०७३ सालमा करिब २४ अर्ब रूपैयाँमा दुइटा विमान खरिद गर्दाको जटिल आर्थिक कारोबार केलाउँदा मिलेमतो भएका प्रशस्त आधार देखिन्छन्।

खोज पत्रकारिता केन्द्र, नेपाल (खोपके) र बेलायतस्थित फाइनान्स अनकभर्डले झन्डै एक वर्ष लगाएर गरेको खोजमा यसका बिक्रेताहरू मल्डोभा, पोर्चुगल र जर्मनीका व्यक्ति तथा कम्पनीहरू रहेको नयाँ तथ्य फेला परेको छ।  कर छलीका लागि सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकहरू मार्फत कारोबार गरिएको समेत भेटिएको छ। यो खरिद प्रक्रियामा अनियमितता भएको आशंकापछि अमेरिकामा समेत यसबारे अनुसन्धान भइरहेको छ।

निगमले दुईवटा वाइडबडी विमान भित्र्याएलगत्तै खरिद प्रक्रिया अपारदर्शी भएको आवाज नेपालमा सार्वजनिक रूपमै उठेको थियो। त्यसपछि नियामक निकायहरूले केही अनुसन्धान गरी कारबाहीको सिफारिस त गरे, तर ती कार्यान्वयन भएनन्।

सदको सार्वजनिक लेखा समितिले २०७५ सालमा गरेको छानबिनमा विमान खरिद गर्दा निगमलाई करिब ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ नोक्सान भएको निष्कर्ष निकालेको छ। महालेखा परीक्षकको कार्यालयका पूर्वकार्यवाहक प्रमुख सुकदेव खत्री भट्टराई भन्छन्, ‘यो ठूलो काण्ड हो।’

खरिद प्रक्रियामा यथेष्ट सतर्कता नअपनाएको र उपयुक्त निर्देशन दिन नसकेको आरोप लगाउँदै लेखा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वमन्त्रीहरू जितेन्द्रनारायण देव र जीवनबहादुर शाहीका साथै तत्कालीन मन्त्री रवीन्द्र अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको थियो।

सोही मन्त्रालयका पूर्व सचिवद्वय प्रेमकुमार राई र शंकरप्रसाद अधिकारी एवं तत्कालीन सचिव कृष्णप्रसाद देवकोटा र खरिद प्रक्रियाको प्रमुख भूमिकामा रहेका निगमका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई पनि कारबाही गर्न समितिले सिफारिस गरेको थियो। आरोपितहरू सबैले उक्त आरोपको खण्डन गरे।

अमेरिकामा पनि प्रश्न

२०७५ पुस १८ मा संसदको सार्वजनिक लेखा समितिले सम्झौतामा भ्रष्टाचार भएको निष्कर्ष निकालेको करिब ६ महिनापछि विमान बेच्ने कम्पनी समूहभित्रको एक अमेरिकी कम्पनी एएआर कर्पले नयाँ खुलासा गर्‍यो। उसले ‘आफ्ना कर्मचारीहरूले नेपाल र दक्षिण अफ्रिकामा गरेको कारोबारमा अमेरिकी भ्रष्टाचार सम्बन्धी कानुन उल्लंघन गरेको हुनसक्ने’ सूचना त्यहाँको नियामक निकायलाई दियो।

अमेरिकाको ‘जस्टिस डिपार्टमेन्ट’ र धितो तथा विनिमय आयोगका साथै बेलायतको भ्रष्टाचार अनुसन्धान र अभियोजन गर्ने संस्था सिरियस फ्रड अफिसमा यो सूचना दिइएको थियो। उक्त ‘उल्लंघन’ नेपालमा भएको वाइडबडी विमान खरिदसँग जोडिएको छ। किनभने एएआर कर्पले नेपालमा गरेको कारोबार यही मात्र हो।

अनुसन्धानमा भेटिएका सूचना र प्रमाणबारे उड्डयन क्षेत्रका पूर्व तथा बहालवाला १५ जना सरकारी अधिकारी र अन्तर्राष्ट्रिय उड्डयन उद्योगका जानकारहरूसँग हामीले कुरा गरेका छौं। यो खोजमा पर्दापछाडि बसेर एयरबस र निगमबीच मध्यस्थता गर्ने को को हुन् भन्ने उजागर गरेका छौं।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल वायुसेवा निगमको वाइडबडी खरिद शंकास्पद रहेको नयाँ तथ्य


तपाईको कमेन्ट लेख्नुहोस्