Techie IT
शनिबार, कात्तिक २९,२०८३

रिकोडद्वारा १ सय १५ जनालाई कृषि तथा पशुपालनसम्बन्धी सामग्री वितरण


ललितपुर । ग्रामीण सामुदायिक संस्था विकास ९रिकोड०ले गोदावरी नगरपालिका(७, देवीचौरमा सोमबार यहाँका १ सय १५ जनालाई कृषि तथा पशुपालनसम्बन्धी सामग्री वितरण गरेको छ ।

 

रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाका अनुसार साविक देवीचौर ४, ५ र ६ का ६९ जना किसानलाई कृषि सामग्री र ४६ जना किसानलाई पशुपालनसम्बन्धी सामग्री वितरण गरिएको हो ।

 

सामग्री वितरण कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद तिमल्सिनाले किसानको आयआर्जन उकास्न रिकोडले गरेको सहयोगप्रति धन्यवाद दिँदै प्राप्त सामग्रीको सही सदुपयोग गर्न लाभान्वित किसानलाई आग्रह गरे ।

 

आजै देवीचौर, सारङ्गीडाँडा र लामीडाँडामा क्रीयाशील स्वास्थ्य आमा समूहका लागि महिलाहरूको कार्यभार कम गर्ने उपकरणहरू घट्ट र मकै छोडाउने मेशीन हस्तान्तरण गरिएको छ ।

 

सो सामग्री वितरण गर्दै वडा सदस्य विनिता नेपालीले महिलाको कार्यभार कम गराउने मेशीनको सदुपयोगसँगै समाजको सकारात्मक रुपान्तरण हुने अपेक्षा गरेको बताइन् ।

 

वडा सदस्य अजयबहादुर तामाङले वडासँगको समन्वयमा तरकारी सङ्कलन केन्द्रका लागि रिकोडले चार थान डिजिटल काँटा र ५० थान क्रेट उपलब्ध गराएको जानकारी दए ।

 

रिकोडले देवीचौरमा गत अप्रिलदेखि खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना लागु गरेको छ । सो परियोजनमार्फत पोषणमा सुधार ल्याउँदै स्वस्थ समाज निर्माण गर्ने र स्थानीयको आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्य रहेको रिकोडकी समुदाय सहजकर्ता तिमल्सिनाले जानकारी दिइन् ।

 

उनका अनुसार आमा समूहमा आबद्ध महिलाका लागि पोषण सत्र, सासू आमाहरूका लागि पोषणसम्बन्धी अभिमुखिकरण, किशोरकिशोरीका लागि प्रजनन् स्वास्थ्य र पोषणसम्बन्धी जानकारी, समूह र वित्तीय व्यवस्थापनसम्बन्धी तालिम, आयआर्जन र पोषण सुधारका लागि कृषक लक्षित कृषि र भेटेरिनरी तालिम तथा करेसाबारीमा लगाउने तरकारीका बिउबिजन सहयोग लगायतका क्रियाकलाप सञ्चालन गरिसकिएको छ ।

 

तिमल्सिनाले अघिल्लो साता मात्रै साविक देवीचौर गाविस वडा नं ४ स्थित देवी स्वास्थ्य आमा समूहका लागि ७५ हजार रुपियाँ, देवीचौर गाविस वडा नं ५ स्थित सारङ्गीडाँडा स्वास्थ्य आमा समूहका लागि ५० हजार रुपियाँ र देवीचौर गाविस वडा नं ६ स्थित लामीडाँडा स्वास्थ्य आमा समूहका लागि ५० हजार रुपियाँ आयआर्जन वृद्धिका लागि सहयोग गरेको बताइन् ।

 

रकम सहयोग कार्यक्रममा रिकोडका कार्यकारी निर्देशक रामहरी घिमिरेले रिकोडले गरेको सहयोगबाट यहाँका नागरिकको पोषण र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आउनु पर्नेमा जोड दिएका थिए ।

 

कृषि सामग्री बुझ्दै स्थानीय सावित्री घिमिरेले प्राप्त सामग्रीको सदुपयोग गर्दै कृषि उत्पादनमा जोड दिने बताइन् ।

 

वितरण गरिएको कृषि सामग्रीमा प्रति व्यक्ति तीन क्वेल पाइप, हजारी, स्प्रिङ्कल, कुटो, कोदालो, दाँते, प्लाष्टिक टनेल, प्लाष्टिक पोखरीका लागि सामग्री, थोपा सिंचाइ ड्रमलगायत र पशुपालनसम्बन्धी सामग्रीमा मिल्कक्यान रहेको स्थानीय सुशीला तिमल्सिनाले बताइन् ।

 

यो परियोजना देवीचौरका साथै बागमती गाउँपालिकाका घुसेल, माल्टा, भट्टेडाँडा, इकुडोल र प्युटारमा सञ्चालन गरिएको रिकोडले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्