Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

धर्मस्थली जात्रालाई धमाथू कानूनी सेवाको टिसर्ट सहयोग


दीपक भेटुवाल (दीपसागर)
धर्मस्थली, २०७९ चैत्र ६ । प्रत्येक वर्ष घोडे जात्राको अवसरमा आयोजना गरिँदै आएको धर्मस्थलीको ऐतिहासिक पाहाँच: ह्रे जात्रालाई धमाथू कानूनी सेवाले ३५० थान टिसर्ट सहयोग गरेको छ ।

धमाथू कानूनी सेवाका सञ्चालकद्वय शंकर तिमिल्सिना र राकेश महर्जनले एक अनौपचारिक कार्यक्रमकाबीच धमाथू युवा क्लबका अध्यक्ष अनिल नकर्मीलाई उक्त टिसर्ट हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा तारकेश्वर नगरपालिका ६ का अध्यक्ष घनश्याम श्रेष्ठ र क्लबका पदाधिकारीहरुको उपस्थिति रहेकोे थियो ।

परम्परादेखि चल्दै आएको मौलिक साँस्कृतिक पर्वलाई उल्लासमय रूपमा अगाडि बढाउन टिसर्ट सहयोग गरिएको कानुनी सेवाका सञ्चालकद्वय शंकर तिमिल्सिना र राकेश महर्जनले बताए । आजदेखि प्रारम्भ भएको जात्रा आगामी १० गतेसम्म पाँच दिन चल्ने स्थानीय धमाथु युवा क्लबका अध्यक्ष अनिल नकर्मीले बताएका छन् ।

उनका अनुसार पहिलो दिन जात्राको लागि तयार पारिएको रथलाई विभिन्न मन्दिरहरूमा लगेर पूजा गर्ने, दोस्रो दिन रथलाई गाउँ परिक्रमा गर्ने, तेस्रो दिन रथलाई पूजा गरेर विधिवत रुपमा रथ उठाउने र यसै दिन बेलुका सिन्दूर जात्रासहित पूजा तथा नाचगान गर्ने, चौथो दिन रथलाई विश्राम दिने तथा आफन्तहरूलाई बोलाएर भोजभतेर ख्वाउने प्रचलन छ । यस्तै जात्राको अन्तिम तथा पाँचौं दिन रथ मन्दिरमा विसर्जन गरेर जात्राको समापन गरिन्छ ।

के हो पाहाँच: ह्रे
विगत लामो समयदेखि नेवार समुदायले मान्दै आएको पाहाँचःह्रे को विशेष महत्व छ । नेवारहरू संस्कृति र संस्कारमा धनी छन्, त्यसमा पनि आफ्नै पनको संस्कार अनुसार पहिला अरूलाई खुवाएर मात्र आफूले खाने गर्छन्, यही विशेषता पाहाँचःह्रे चाडले बोकेको छ । यो अवसरमा नेवार समुदायले आफ्ना पितृहरूको स्मरण गर्दै आफन्त, साथीभाइ र इष्टमित्र बोलाएर भोज खुवाउने गर्छन् । त्यसैले यो पर्वलाई पाहाँचःह्रे भनिएको हो । पाहाँ भनेको पाहुना र चःह्रेकोअर्थ चतुर्दशी हो । अर्थात् पाहुना बोलाएर खुवाउने भएकाले पाहाँचःह्रे भनिएको हो ।

नेवार समुदायमा हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म पाहाँचःह्रे चाड मनाउने गरिन्छ । यो समय भनेको जाडो याम सकेर गर्मी सुरु हुने भएकाले हुरीबतास आउने, पानी पर्ने र विभिन्न रोग समेत लाग्ने भएकाले त्यसलाई छेक्न अर्थात् रोगव्याधिबाट बच्न धार्मिक परम्पराअनुसार पाहाँचःह्रे चाड मनाउने गरिएको लेखक हरिबोल श्रेष्ठले बताए ।

उनका अनुसार यो पर्वमा विभिन्न किसिमका समस्याबाट बच्न देवतालाई राँगा, हाँस, कुखुरा र बोकाको बलिसहित तान्त्रिक विधिबाट पूजा पनि गरिन्छ । पाहाँचःह्रेका दिन फोहोरको डंगुरमा गाडेर राखिएको लुकुमहाद्यः (लुकेका महादेव) लाई तान्त्रिक विधिबाट समयबजि, छोइला र जाँडरक्सी चढाएर पूजा गर्ने चलन छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Dharmasthali


तपाईको कमेन्ट लेख्नुहोस्